ह्यारिस लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने


सान फ्रान्सिस्को, ३० भदौ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बने आफू दौडमा नउत्रने बताएको छ । डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतीय दाबेदार मानिएका न्युसमले सिएनएनसँगको अन्तर्वार्तामा ह्यारिस र आफू दुवै उम्मेदवार बने डेमोक्रेटिक मत विभाजित हुने र त्यसबाट रिपब्लिकनलाई फाइदा पुग्ने बताएको हो ।

सिएनएनका प्रस्तोता जेक टेपरसँगको अन्तर्वार्तामा उनले ह्यारिस उम्मेदवार बने आफूले प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे । रिपब्लिकनहरूले वर्तमान उपराष्ट्रपति जेडी भान्ससहित सम्भावित उम्मेदवारको पक्षमा मत एकत्रित गर्न सक्ने उनको भनाइ छ । दुई डेमोक्रेटिक उम्मेदवारबीचको प्रतिस्पर्धालाई उनले पार्टीका लागि ‘पारस्परिक रूपमा सुनिश्चित विनाश’ को अवस्था बताए ।

न्युसमले सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनविरुद्ध उम्मेदवारी नदिनुको कारण आफू त्यतिबेला तयार नभएको बताए । आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा आफ्ना चार सन्तानको समर्थन पनि महत्त्वपूर्ण हुने उनले बताए ।

सन् २०१८ मा क्यालिफोर्नियाको गभर्नर निर्वाचित भएका न्युसम चार वर्षपछि दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भएको हो । सान फ्रान्सिस्कोको मेयर हुँदै गभर्नरसम्म पुगेका उनलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्रेटिक उम्मेदवारका रूपमा हेरिँदै आएको छ ।

यसैबीच, न्युसमले सोमबार सर्वोच्च अदालतको मेल–इन मतदानसम्बन्धी निर्णयको स्वागत गरेको छ । उनले निर्णयलाई लोकतन्त्र, विधिको शासन र संवैधानिक अधिकार प्रयोग गर्न चाहने अमेरिकी जनताका लागि सकारात्मक भएको बताए । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत २० महिनामा लोकतन्त्रमाथि निरन्तर आक्रमण गरेको आरोपसमेत लगाए । रासस