अम्बानी परिवारको न्यानो आतिथ्यमा वरुण चौधरी र अनुश्री


काठमाडौँ । नेपालको अग्रणी औद्योगिक घराना सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित प्रसिद्ध निवास ‘एन्टिलिया’मा आयोजित गणेश चतुर्थी उत्सवमा सहभागी भएका छन्।

उत्सवमा चौधरी आफ्नी धर्मपत्नी अनुश्री टोंग्या चौधरीसहित सहभागी भएका हुन्। अम्बानी परिवारले आयोजना गरेको धार्मिक अनुष्ठान तथा उत्सवमा पुगेका चौधरी दम्पती परम्परागत पोशाकमा सजिएका थिए।

चौधरीले सामाजिक सञ्जालमार्फत कार्यक्रमका तस्बिर तथा भिडियो सार्वजनिक गर्दै अम्बानी परिवारको न्यानो स्वागत र भव्य आतिथ्यप्रति आभार व्यक्त गरेका छन्। पोस्टमा उनले “Blessed to celebrate Ganesh Chaturthi at Antilia” लेख्दै अम्बानी परिवारप्रति धन्यवाद व्यक्त गर्नुका साथै अन्त्यमा ‘गणपति बप्पा मोरया’समेत उल्लेख गरेका छन्।

सार्वजनिक सामग्रीमा एन्टिलियाको भव्य सजावट, पूजा-अर्चना र धार्मिक वातावरणको झलक देख्न सकिन्छ।

उद्योगपति विनोद चौधरीका सुपुत्र वरुण चौधरी सीजी कर्प ग्लोबलको व्यावसायिक गतिविधि तथा अन्तर्राष्ट्रिय विस्तारमा सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। अम्बानी परिवारसँगको यस सहभागितालाई व्यावसायिक तथा उच्चस्तरीय सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ।