काठमाडौँ। सरकारले अघि सारेको ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ र पूँजीगत लाभकर हालको भन्दा आधा घटाउने घोषणाको प्रत्यक्ष प्रभाव मंगलबारको सेयर बजारमा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंकले बढेर २,६३३.६२ को विन्दुमा पुगेको छ। यो अंक गत भदौ १ गते यताकै उच्च हो।
ठूला तथा बलिया कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले बढेर ४६७.४५ को विन्दुमा पुगेर बन्द भएको छ।
बजार सुधारको नीतिगत घोषणासँगै कारोबार खुलेकै समयदेखि लगानीकर्तामा उच्च उत्साह देखिएको थियो। कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से २,६७९ अंकसम्म पुगेको थियो भने पछि केही सम्हालिँदै मध्याह्न १२:५४ बजे २,६११ अंकसम्म ओर्लिएर अन्त्यमा २,६३३.६२ मा बन्द भयो।
अघिल्लो दिन रु. ४ अर्ब ६८ करोडको कारोबार भएकोमा मंगलबार उल्लेख्य वृद्धि भई रु. ८ अर्ब २९ करोड पुगेको छ। यो असार ३० गते यताकै उच्च कारोबार रकम हो। सामान्यतया दैनिक करिब १ करोड कित्ता सेयर किनबेच हुने गरेकामा मंगलबार २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएका छन्।
मंगलबार कारोबारमा आएका सबै १३ वटै उपसमूहगत परिसूचकमा उत्साहजनक वृद्धि दर्ज भएको छ। निर्जीवन बीमा उपसमूह सर्वाधिक २.८२ प्रतिशतले बढ्दा जीवन बीमा र लगानी उपसमूह पनि साढे २ प्रतिशतभन्दा बढीले उकासिएका छन्।
| उपसमूह (Sub-Index) | प्रतिशत वृद्धि (%) |
| निर्जीवन बीमा (Non-Life Insurance) | ▲ २.८२% |
| जीवन बीमा (Life Insurance) | ▲ २.५९% |
| लगानी (Investment) | ▲ २.५२% |
| फाइनान्स (Finance) | ▲ २.२३% |
| अन्य (Others) | ▲ २.१२% |
| बैंकिङ (Banking) | ▲ १.९०% |
| जलविद्युत् (Hydropower) | ▲ १.८४% |
| विकास बैंक (Development Bank) | ▲ १.७६% |
| माइक्रोफाइनान्स (Microfinance) | ▲ १.७५% |
| होटल तथा पर्यटन (Hotel & Tourism) | ▲ १.४२% |
| व्यापार (Trading) | ▲ ०.९२% |
| उत्पादन तथा प्रशोधन (Manufacturing) | ▲ ०.७७% |
कम्पनीगत प्रदर्शन र शीर्ष कारोबार
मंगलबार कुल २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो। धौलागिरि लघुवित्तको सेयर मूल्य १४.९६ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक (११.०३%), मल्टिपर्पस फाइनान्स (९.७३%), जानाकी फाइनान्स (८.०६%) र मिडसोलु हाइड्रोपावर (६.६७%) का लगानीकर्ताले उल्लेख्य कमाए।
बोटलर्स नेपाल बालाजुको मूल्य २.९७ प्रतिशतले घटेको छ। रिलायन्स स्पिनिङ मिल्स (१.९४%) र सर्वोत्तम पेन्ट्स (१.६६%) को मूल्य पनि घटेको छ।
सर्वाधिक कारोबार हुनेमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको रु. २,८७९ प्रतिसेयर मूल्यमा रु. ३२ करोड ७० लाख बराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको रु. ६८१ मा रु. ३१ करोड ५६ लाखको कारोबार भयो। अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक पनि धेरै कारोबार हुने शीर्ष सूचीमा परेका छन्।




प्रतिक्रिया