इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, चार घाइते


काठमाडौँ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै मंगलबार एउटा विद्युतीय सवारी (इभी) अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी गाडी सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनाग्रस्त गाडीमा ६ जना पुरुष र २ जना महिला गरी कुल ८ जना सवार रहेका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी र ट्राफिक प्रहरीको टोली उद्धारका लागि तत्काल घटनास्थल पुगेको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइते भएका व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको परिचय खुलाउनेसँगै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।