बाढीले क्षति पुर्‍याएका १२ झोलुङ्गे पुल असोज २० भित्र सञ्चालनमा ल्याइने


काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई सरकारले तीव्रता दिएको छ। स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले क्षतिग्रस्त पुलहरूलाई प्राथमिकताका आधारमा मर्मत तथा पुनःनिर्माण गर्न लागिएको हो।

बाढीबाट क्षति पुगेका पुलमध्ये १२ वटाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। ती पुलहरूलाई आगामी असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको सरकारले जनाएको छ।

मर्मत भइरहेका पुलमा धादिङतर्फ कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल छन्।

त्यस्तै, नुवाकोट–धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा–धादिङ जोड्ने बादरे झोलुङ्गे पुल पनि मर्मतको क्रममा छन्।

सरकारले बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि समेत आवश्यक तयारी अघि बढाएको छ। मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको र सामग्री कार्यस्थलमा पुर्‍याइएको जनाइएको छ। स्टिलका पार्ट्स खरिद प्रक्रिया पनि अघि बढाइएको छ।

३३ पुल पुनःनिर्माण गरिने

मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा झोलुङ्गे पुल भने नयाँ निर्माण गरिने भएका छन्।

नयाँ पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, बुलडग ग्रिप्सलगायत सामग्री खरिद गर्न सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

बाढीका कारण पुलहरू क्षतिग्रस्त भएपछि करिडोरका विभिन्न क्षेत्रमा स्थानीयको आवतजावत प्रभावित भएको थियो। सरकारले मर्मत तथा पुनःनिर्माणको कामलाई गति दिएसँगै प्रभावित क्षेत्रका बासिन्दाको दैनिक आवतजावत सहज हुने अपेक्षा गरिएको छ।