तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड सम्पन्न, मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक



काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई अवार्ड र सम्मान प्रदान गरिएको हो।


आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका प्रतिभालाई सम्मान गरिएको थियो।


अवार्डको तेस्रो संस्करणमा पब्लिक च्वाइससहित विभिन्न २४ विधामा सर्जक तथा कलाकारलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। समारोहमा लोकप्रिय गायक मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायकको अवार्ड प्राप्त गरे।
यसैगरी चन्द्र जयपाल राई सर्वोत्कृष्ट गीतकार, तपस्या राई सर्वोत्कृष्ट पप गायिका, ज्ञानदिप सुवेदी सर्वोत्कृष्ट पुरुष मोडेल, सोम गुरुङ सर्वोत्कृष्ट लोक गायक, सुरेश राई सर्वोत्कृष्ट सङ्गीतकार तथा किशोर सुब्बा सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक घोषित भए।


मेघराज रानोहन्छा सर्वोत्कृष्ट आधुनिक गायक, सुनिता राई सर्वोत्कृष्ट लोक आधुनिक गायिका, मेनुका राई सर्वोत्कृष्ट युगल गायिका, कुमार केरुङ सर्वोत्कृष्ट आधुनिक गीतकार तथा भीमकुमार तुम्बापो सर्वोत्कृष्ट लिम्बू पालाम गायक बने।


त्यस्तै मोहन सुनुवार सर्वोत्कृष्ट भिडिओ सम्पादक, सुमी चाम्लिङ राई सर्वोत्कृष्ट लोक पूर्वेली गायिका, स्वेता कार्की तीज गीत विधामा तथा शिवजी क्षेत्री लोक युगल निर्देशकतर्फ उत्कृष्ट घोषित भए। वर्षका उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड हस्तबहादुर लिबाङ (लिम्बू)ले प्राप्त गरे। सर्वोत्कृष्ट राष्ट्रिय भाव गीततर्फ ‘यो देशले तिम्रो’ चयन भएको आयोजकले जनाएको छ।


जनमततर्फ पनि कलाकार पुरस्कृत


समारोहमा दर्शक तथा श्रोताको जनमतका आधारमा प्रदान गरिएको पब्लिक च्वाइस अवार्ड पनि विभिन्न विधाका कलाकारलाई प्रदान गरिएको थियो। सर्वोत्कृष्ट युगल गायकतर्फ बबिना किराँती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीततर्फ टेक तामाङ, सर्वोत्कृष्ट गीतकारतर्फ मीरा देवी राई, सर्वोत्कृष्ट पप गायिकातर्फ सरगम राई तथा सर्वोत्कृष्ट लोक गायकतर्फ रामचन्द्र चन्दले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे। त्यस्तै सर्वोत्कृष्ट भिडिओ निर्देशकतर्फ कुबेर तामाङ जनमतबाट उत्कृष्ट घोषित भए।


दीपक खरेल र बुद्धवीर लामालाई जीवन साधना सम्मान


समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई **‘विशिष्ट गायन रत्न सम्मान’**बाट सम्मानित गरिएको आयोजकले जनाएको छ।


विशिष्ट चलचित्रकर्मी सम्मानबाट निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङ सम्मानित भए। गायक तथा संगीतकार अशोक मुकारुङ, चलचित्रकर्मी किशोर झा, गायक पुष्कर सुनुवार, गायक तथा संगीतकार चित्र आठपहरिया, ट्याटु कलाकार सुनिता कुँवर, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, निर्माता श्रीकृष्ण बिष्ट र गायक निमा शेर्पालगायतलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।