‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि


काठमाडौँ, १ असोज । जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी व्यतित गरेको पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

उनले भारतको राजस्थान नेवाइस्थित डा के एन मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै सो विद्यावारिधि हासिल गरेका हुन् । डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्टहरुको महासङ्घ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रसलगायत संस्थामा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एकदशकभन्दा बढी समय काम गरेका छन् ।

उनले व्यावसायिक जीवनको महत्वपूर्ण हिस्सा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकासमा नेतृत्वदायी जिम्मेवारीहरु सम्हालेका थिउ । साथै उनले नेपाल रेडक्रस सोसाइटीको महामन्त्रिको जिम्मेवारी पनि सम्हालेका थिए ।

डा अर्यालको व्यावसायिक दक्षता तथा योगदान विशेषगरी जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापना र सामुदायिक विकासका क्षेत्रमा केन्द्रित छ । उनी हाल नेपाल युनाइटका वरिष्ठ सल्लाहकार तथा डिपिनेटका सल्लाहकारका रुपमा पनि कार्यरत छन् ।