जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन


गोरखा । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन् ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका दावा नोर्वु लामासहित ११ युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित आठ बुँदे माग राख्दै आजदेखि मनास्लु आधार शिविरमा आमरण अनसन सुरु गरेका हुन् । उनीहरुले मनास्लु बेसक्याम्पभन्दा माथि चार हजार ९०० मिटर उचाइमा अनसन थालेका हुन्

मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा यस वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ ।

मनास्लुको फेदमा वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीनवटा जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाइ निरीक्षण गर्नसमेत माग गरिएको छ ।

ती ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न उनीहरुले मागपत्र मार्फत माग गरेका छन् । नेपाल र चीनका सीमावर्ती क्षेत्रमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ ।

देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ ।

सबै हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी विषय पाठ्यक्रममा समेट्न माग गरिएको छ । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्नका लागि सहरमा हुने गरेका जलवायुसम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ ।

आठ बुँदे माग राख्दै केही दिनअघि प्रमुख जिल्ला अधिकारी, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय एकाइ कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत ध्यानाकर्षण पत्र पेस गरिएको अनसनरत युवा दावा नोर्वु लामाले जानकारी दिए । रासस