कोसी प्रदेशका २३२ अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता



विराटनगर । कोसी प्रदेशमा स्रोत अभावमा वर्षौँदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पन्नको प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासंघ कोसी प्रदेशको टोलीबीच भएको भएको छलफलपछि अधुरा योजना यथाशीघ्र अघि बढाउने सहमति जुटेको छ । 

मन्त्री आचार्यले  म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका त्यस्ता सडक, पुल तथा भवनलगायतका आयोजनाको म्याद थप र बजेट व्यवस्थापनमा सक्दो सहयोग पुर्‍याउनले  प्रतिबद्धता व्यक्त गरे ।

 मन्त्री आचार्यले निर्माण व्यवसायीहरूलाई यो अन्तिम मौका भएको बताएका छन् ।  आर्थिक वर्षको केही महिनाभित्रै काम सक्ने सर्तमा मात्र म्याद थप गर्न सकिने उनको भनाइ छ  ‍ ”सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार हुन् । व्यवसायीहरूले इमानदारिताका साथ तोकिएको केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएकाले सरकारले अन्तिम पटक म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछ । तर, काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन,” उनले भने । 

 व्यवसायीका तर्फबाट पनि अब ढिलासुस्ती नगरी निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पत्र गर्ने सामूहिक प्रतिबद्धता व्यक्त भएको छ । 
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा १२१ वटा कालोपत्र गर्नुपर्ने सडक अधुरा थिए ।  त्यसबाहेक पुल, भवनसमेत थप १११ योजना स्रोत अभावमा त्यस्तै अलपत्र छन् । गत आर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका नौ, खोटाङका तीन, उदयपुरका दुई र धनकुटाको एक सडक योजना स्रोत अभावमा काम अघि बढ्न सकेका थिएनन् ।

 ती सडक सडक सम्पत्र गर्न मात्रै झन्डै रु ३२ करोड खर्च आवश्यक अनुमान गरिएको छ भने थप १११ योजनाका लागि रु ६० करोड बढी स्रोत व्यवस्थापनको आवश्यकता औँल्याइएको छ । रासस