काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न आग्रह गर्ने भएका छन्।
शनिबार बिहान नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघ (सीआईआई) को मुख्यालयमा आयोजना हुने उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने छलफलमा करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने जनाइएको छ।
छलफलका क्रममा वाग्लेले नेपालमा लगानीको वातावरण, कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफल सुनिश्चितताबारे सरकारको धारणा प्रस्तुत गर्नेछन्। नेपालमा लगानी गरिसकेका भारतीय कम्पनीलाई थप लगानी विस्तार गर्न समेत उनले आग्रह गर्ने उनको सचिवालयले जनाएको छ।
भारतको तीनदिने भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले यसअघि भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरिसकेका छन्। भ्रमण सकेर वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार नै नेपाल फर्किने कार्यक्रम रहेको छ।




प्रतिक्रिया