कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु


काठमाडौँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।