कांग्रेसको वडा अधिवेशन आज ३३ जिल्लामा सुरु हुँदै


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार देखि ३३ जिल्लामा वडा अधिवेशन सुरु हुँदै छ। केन्द्रीय निर्वाचन समितिका अनुसार तोकिएका ३३ जिल्लामा आजै वडा अधिवेशनको प्रक्रिया अघि बढाइनेछ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा असोज ७ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने तयारी छ। मधेस प्रदेशका जिल्लाहरूमा भने असोज ४ गते वडा अधिवेशन गर्ने कार्यक्रम छ।

आज पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र मोरङमा वडा अधिवेशन हुँदै छ। काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा पनि शनिबार नै अधिवेशन गरिनेछ।

त्यस्तै, गण्डकी प्रदेशका सबै जिल्लामा आज वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी र बाँकेमा भने आज र भोलि गरी दुई दिन अधिवेशन सञ्चालन हुनेछ।

कर्णाली प्रदेशका रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख र सुर्खेत तथा सुदूरपश्चिमका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदै छ।

बाँकी जिल्लामा स्थानीय परिस्थिति अनुकूल हुने गरी छिट्टै वडा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।