काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधानका कमजोरी र बेथितिलाई सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउनुपर्ने बताएका हुन्।
“हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्। संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,” उनले लेखेका छन्।
उनले लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता नागरिकका मौलिक हक व्यवहारमै स्थापित हुन सकेपछि मात्र देखिने बताएका छन्। आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ।
लामिछानेले बेथिति र कमजोरी सच्याउने तथा लोकतन्त्र र समावेशितालाई थप सुदृढ गर्ने विषयमा विवेकपूर्ण बहसका लागि संविधान दिवस उपयुक्त अवसर भएको उल्लेख गरेका छन्।
“बलियो राज्य भनेको बलिया संस्था हुन्,” उनले भनेका छन्, “संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आम नागरिकलाई आआफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।”
संविधान दिवसको अवसरमा लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।





प्रतिक्रिया