एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर : केपी ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गराउने उद्देश्यले भइरहेका प्रयासले आफू र एमालेलाई असर नपार्ने बताएका छन्। उनले एमाले आफ्नो बाटोमा अघि बढिरहने दाबी गर्दै पार्टी फुटाउने प्रयास सफल नहुने बताए।

संविधान दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूले पार्टीभित्र लामो समयदेखि विभिन्न चुनौतीको सामना गर्दै आएको उल्लेख गरे। उनले आफूलाई अहिलेका गतिविधिले कमजोर बनाउन नसक्ने बताए।

“केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए। मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ,” ओलीले भने।

महाभारतको प्रसङ्ग उल्लेख गर्दै उनले जटिल परिस्थितिमा भीष्मपितामह ढलेको उदाहरण दिए पनि आफू त्यस्तो अवस्थामा नरहेको बताए। आफू करिब छ दशकदेखि एमालेको राजनीतिमा रहेको उल्लेख गर्दै ओलीले अहिले पार्टीमाथि विभिन्न दिशाबाट हमला भइरहेको र नयाँ पार्टी बन्न लागेको भन्ने हल्ला फैलाइएको दाबी गरे।

पार्टीमा अध्यक्ष र महासचिवको जिम्मेवारीसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई ओलीले अस्वीकार गरे। उनले असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टी एकता कायम राख्दै आगामी कामको स्पष्ट संकल्पसहित अघि बढ्ने बताए।

“पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,” उनले भने।

पार्टी विभाजन गराउने उद्देश्यले भइरहेका गतिविधि सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतको प्रसङ्गसमेत उल्लेख गरे। “एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन,” ओलीले भने।