शीतलनिवासमा संविधान दिवस: प्रधानमन्त्री बालेनदेखि पूर्वप्रधानमन्त्रीहरु एकै ठाउँमा,ओली अनुपस्थित !


काठमाडौं । जनप्रतिनिधिमार्फत जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज राष्ट्रपति निवास शीतलनिवासमा विशेष समारोह आयोजना गरिएको छ।

संविधान दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याललगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्। राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उनको भनाइ छ।
‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जोगाउन सकोस्,’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपतिको सम्बोधनपछि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेलगायतका नेताहरू राउन्ड टेबलमा सँगै देखिएका थिए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सँगै देखीए ।समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह पनि उपस्थित थिए।

पूर्व प्रधानमन्त्री केपी ओली भने समारोहमा गएनन्

देशको संवैधानिक इतिहाससँग जोडिएको महत्वपूर्ण दिनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एकै ठाउँमा उपस्थित भइरहँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने शीतलनिवासमा देखिएनन्।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा ओली सार्वजनिक कार्यक्रममा कमै देखिएका छन्। संविधान दिवसकै अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा समेत उनको अनुपस्थिति देखिएको हो।

ओली नेतृत्वको तत्कालीन सरकारविरुद्ध २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको थियो। आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि अन्तरिम सरकार गठन हुँदै निर्वाचनमार्फत नयाँ राजनीतिक शक्ति सत्तामा आएको हो। यही पृष्ठभूमिमा संविधान दिवसको समारोहमा पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति रहँदा ओलीको अनुपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

तर, ओली समारोहमा सहभागी नभएको कारणबारे भने उनको सचिवालय हालसम्म कुनै जानकारी दिएको छैन ।