काठमाडौं । नेपाली रेडियो नेटवर्कले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ। संविधान दिवसकै दिन स्थापना भएको रेडियो नेटवर्कले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ऋषि धमलाले मुलुक संकटमा पर्दा नेपाली रेडियो नेटवर्कले आवश्यक भूमिका निर्वाह गरेको बताएका छन् ।
धमलाले संविधान दिवसकै दिन स्थापना भएको नेपाली रेडियो नेटवर्कले संविधान कार्यान्वयन र नागरिकका सवाल उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले आगामी दिनमा पनि जनताका समस्या, सुशासन र विकासका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखे।
उनले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताउँदै रेडियोले भ्रष्टाचारविरुद्ध थप सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ‘हामीलाई सुशासन चाहिएको छ। भ्रष्टाचारीलाई अझै पनि कारबाही भएको छैन,’ धमलाले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्न संविधानले रोकेको छैन, छेकेको छैन।’
उनले प्रधानमन्त्री बालेन शाहलाई भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही अघि बढाउन आग्रह गरे।
‘तुरुन्तै हाम्रो देशको भ्रष्टाचारीलाई कारबाही गर्नुस्। जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस्,’ धमलाले भने, ‘सुशासनको प्रत्याभूति दिनेगरी काम गर्नुपर्छ। हामी खबरदारी गर्नेछौँ।’




प्रतिक्रिया