बौद्धनाथको अखण्डदीप निभेको विषयमा विवाद: ‘भ्रम सिर्जना गर्न अर्कै ठाउँमा बोर्ड टाँसियो’


काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्यमा अनादिकालदेखि प्रज्वलित हुँदै आएको अखण्डदीप निभेको र त्यसलाई ढाकछोप गर्न नक्कली साइनबोर्ड टाँसेर भ्रम सिर्जना गरिएको श्री बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीले आरोप लगाएको छ।

गुठीका तर्फबाट चिनियाँ लामा भूपति बज्र लामाद्वारा जारी प्रेस विज्ञप्तिमा व्यवस्थापन समितिका अध्यक्ष खड्गजित लामासहितका व्यक्तिहरूले भक्तजनहरूले सामान्य रूपमा बाल्ने गरेको दीपलाई नै अखण्डदीप भन्दै भ्रामक प्रचार गरिरहेको दाबी गरिएको छ।

विज्ञप्तिअनुसार अखण्डदीप निभिसकेको अवस्थामा विधिपूर्वक क्षमापूजा गरी यथास्थानमा नै पुनः प्रज्वलित गर्नुपर्नेमा सो नगरी अर्कै स्थानका बत्तीहरू देखाएर अदालत र सर्वसाधारणलाई गुमराहमा राख्ने काम भइरहेको छ।

धर्मलोप गराउने गतिविधि र गुठीको जग्गा अतिक्रमणविरुद्ध उच्च अदालत पाटनमा मुद्दा (मुद्दा नं. ०८३-wo-०४२२) विचाराधीन रहेको विज्ञप्तिमा उल्लेख छ। उक्त मुद्दाको अन्तरिम आदेशका लागि परेको निवेदनमाथि छलफल चलिरहेकै अवस्थामा मुद्दालाई प्रभावित पार्न रातारात ‘अखण्डदीप’ लेखिएको फ्लेक्स बोर्ड टाँसिएको घ्याङ्ग गुठीको भनाइ छ।

यसअघि पनि निषेधाज्ञा मुद्दा (मुद्दा नं. ०७४-wo-०४२२) मा उच्च अदालत पाटनका न्यायाधीशद्वय अग्निप्रसाद थपलिया र भानुभक्त शर्मा न्यौपानेको इजलासले २०७५ जेठ २४ गते घ्याङ्ग गुठीको पक्षमा फैसला गर्दै धार्मिक गतिविधि नरोक्न आदेश दिएको थियो।

घ्याङ्ग गुठीले व्यवस्थापन समितिमाथि धार्मिक पूजापाठमा व्यवधान खडा गरेको, भक्तजनबाट अवैध शुल्क उठाएर आर्थिक हिनामिना गरेको र विश्व सम्पदा क्षेत्रभित्रको जमिन मिचेर व्यापारिक प्रयोग तथा भाडामा लगाएको गम्भीर आरोपसमेत लगाएको छ।

यस सम्बन्धमा पुरातत्व विभाग, गुठी संस्थान र सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पटक-पटक पत्राचार भइसक्दा पनि समितिले पेलेर क्षमापूजासमेत गर्न नदिएपछि पुनः अदालतको शरणमा जानुपरेको भूपति बज्र लामाले बताएका छन्।

भक्तजनले बाल्ने नियमित दीप र अनादिकालदेखिको ऐतिहासिक अखण्डदीप फरक रहेको स्पष्ट पार्दै गुठीले सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न र बौद्ध महाचैत्यको अस्तित्व रक्षाका लागि सहयोग गर्न अपिल गरेको छ।