एजेन्सी । चीनले आइतबार नौ वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
चिनियाँ समयअनुसार आइतबार दिउँसो १२ बजेर ३ मिनेटमा उत्तरपश्चिम चीनस्थित तोङफेङ व्यावसायिक अन्तरिक्ष प्रविधि परीक्षण क्षेत्रबाट लिजियान–१ वाई १८ रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो ।
प्रक्षेपणपछि सबै नौ वटै उपग्रह निर्धारित कक्षमा प्रवेश गरेका छन् । यी उपग्रहहरू अन्तरिक्ष वातावरणको निगरानी, प्राकृतिक विपद्को पूर्वतयारी तथा क्षति न्यूनीकरण र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग गरिनेछन् ।
चीनले यो प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको जनाएको छ । यो लिजियान रकेट शृंखलाको १७ औँ प्रक्षेपण अभियान हो । चीनको व्यावसायिक अन्तरिक्ष कम्पनी सीएएस स्पेसले विकास गरेको लिजियान रकेटमार्फत हालसम्म एउटा अन्तरिक्षयान र १२१ वटा उपग्रह अन्तरिक्षमा पठाइसकिएको कम्पनीले जनाएको छ ।
लिजियान रकेट श्रृंखलामार्फत अन्तरिक्षमा पठाइएका सामग्रीको कुल भार २१ टनभन्दा बढी पुगेको छ । कम्पनीका अनुसार लिजियान–१ रकेटको प्रक्षेपण कार्यक्रम सन् २०२७ को दोस्रो अर्धवार्षिक अवधिसम्म तय गरिएको छ ।
चिनियाँ सञ्चारमाध्यमकाअनुसार सीएएस स्पेस चीनको निजी अन्तरिक्ष क्षेत्रमा सबैभन्दा धेरै उपग्रह र सबैभन्दा भारी भार अन्तरिक्षमा पठाउने कम्पनी बनेको छ ।




प्रतिक्रिया