टोकियो, ५ असोज । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ । जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ ।
आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटर पुगेको छ । टोकियोनजिकैको चिबा क्षेत्रमा ४ हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ भने अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान स्थगित गरेको छ । टोकियो तथा आसपासका केही रेल सेवा पनि प्रभावित भएका छन् ।
आँधीका कारण ‘टोकियो गेम शो’को अन्तिम दिनको कार्यक्रम र चिबामा आयोजना हुने सांगीतिक महोत्सव तथा बेसबल खेलसमेत रद्द गरिएको छ । रासस




प्रतिक्रिया