‘प्रहरीकै नेतृत्वमा बनेको छानबिन समिति स्वीकार्य छैन’ : अजय सोडारी


काठमाडौं । ट्राफिक प्रहरीको कथित दुर्व्यवहारका कारण एक चालकले आत्मदाहको प्रयास गरेको घटनाप्रति टिप्पणी गर्दै अजय सोडारीले प्रहरीकै नेतृत्वमा गठन गरिएको छानबिन समिति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोडारीले ट्राफिक प्रहरीको व्यवहार अत्यन्तै गम्भीर र आपत्तिजनक देखिएको दाबी गरे। उनले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीभन्दा बाहिरको स्वतन्त्र समिति गठन गर्न माग गरे।

“एउटा भिडियो बाहिर आएको छ। ट्राफिकको ह्यारेस्मेन्ट यस्तो देखिन्छ कि मानिस आफैंलाई आगो लगाउन बाध्य हुने अवस्था सिर्जना भएको छ। यो छानबिन समिति अस्वीकार्य छ,” उनले भने, “जसले चालकलाई मर्न बाध्य बनायो, उसकै नेतृत्वमा भएको छानबिन समिति हामीलाई स्वीकार्य छैन।”

सोडारीले गणेश नेपालीको मृत्यु भएको चार महिना बितिसक्दा पनि सरकारले त्यस घटनाबाट पाठ नसिकेको आरोप लगाए। उनले ट्राफिक प्रहरीको व्यवहारका कारण चालकहरू निरन्तर दबाब र जोखिममा परेको दाबी गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए।

“गणेश नेपालीको घटनाबाट सरकारले केही सिकेन। कति नेपालीलाई मार्नुहुन्छ ? गणेश नेपाली र दावा लामा मात्र होइन, हजारौँ चालकलाई मर्न बाध्य बनाइँदैछ,” उनले भने।

रसुवामा सुरुङभित्र पुरिएका मजदुरको उद्धारमा भएको ढिलाइप्रति समेत सोडारीले प्रश्न उठाए। सुरुङभित्रको माटो निकाल्न नसकिने भनिए पनि नेपाली सेनाले २०–२२ दिनपछि शव निकालिरहेको उल्लेख गर्दै उनले उद्धार कार्य चार–पाँच दिनभित्रै गर्न सके धेरैको ज्यान जोगिन सक्ने दाबी गरे।

उनले प्रहरीको नेतृत्वमा हुने छानबिन निष्पक्ष हुन नसक्ने भन्दै त्यस्तो समिति दोषीलाई जोगाउने प्रयास मात्र भएको आरोप लगाए। “प्रहरीको नेतृत्वमा छानबिन हुन सक्दैन। यो देखावटी मात्र हो, दोषीलाई जोगाउने खेल हो,” उनले भने।

सोडारीले राज्य नागरिकप्रति निर्मम बन्दै गएको आरोप लगाउँदै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताए। उनले राज्यको व्यवहार नसुध्रिए आफूहरू सडक आन्दोलनमा आउन बाध्य हुने चेतावनी दिए।

प्रधानमन्त्रीको विरोध नभई सरकारका गलत कामप्रति खबरदारी गरिएको उनको भनाइ थियो। “हामीले प्रधानमन्त्रीको विरोध गरेका होइनौँ, गलत कामप्रति खबरदारी गरेका मात्र हौँ। बाढीपीडितलाई राहत देऊ भन्नु विरोध हो ? पढ्ने विद्यार्थीलाई गाँस देऊ भन्नु विरोध हो ? नेपालले सीमा मिचेको छ भन्दा कहाँ मिचेको छ भनेर प्रश्न गर्नु विरोध हो ?” उनले प्रश्न गरे।