परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता


काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो ।

नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।