इस्टर हमला मुद्दाको फैसला हुँदै


कोलम्बो, ६ असोज । श्रीलङ्काको इतिहासकै घातक आक्रमण मानिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटसम्बन्धी मुद्दामा मङ्गलबार फैसला सुनाइँदैछ । आत्मघाती बम विस्फोटमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध चलेको मुद्दामा कोलम्बो उच्च अदालतले फैसला सुनाउने भएको हो ।

सन् २०१९ अप्रिल २१ मा तीन होटल र तीन चर्चमा भएका आत्मघाती विस्फोटमा ४५ विदेशी नागरिकसहित २७९ जनाको मृत्यु भएको थियो । घरेलु इस्लामवादी अतिवादी समूहलाई आक्रमणको जिम्मेवार ठहर गरिएको छ । पच्चीस अभियुक्तमध्ये एक जनाको हिरासतमै मृत्यु भएपछि २४ जनामाथि मुद्दा चलिरहेको हो ।

अदालत परिसरमा विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ । मुद्दामा हत्या, आतङ्कवादी गतिविधिको षड्यन्त्र तथा बन्दुक र विस्फोटक पदार्थ राखेको आरोपसहित २३ हजार २७० अभियोग लगाइएका छन् । अभियोजनकर्ताहरूले मोहम्मद नौफरलाई आक्रमणका कथित प्रमुख योजनाकारका रूपमा पहिचान गरेका छन् । सबै अभियुक्तले आरोप अस्वीकार गरेका छन् ।

दोषी ठहर भए केही अभियुक्तलाई मृत्युदण्ड हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलङ्काले सन् १९७६ यता मृत्युदण्ड कार्यान्वयन गरेको छैन र सामान्यतः यस्तो सजायलाई आजीवन कारावासमा परिणत गर्ने गरिएको छ ।

यसैबीच, पूर्वगुप्तचर प्रमुख सुरेश सल्ले पनि आक्रमणको योजना बनाएको आरोपमा हिरासतमा छन् । उनले आरोप अस्वीकार गरेको छ । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले अनुसन्धानकर्ताहरूले उनलाई आक्रमणका मुख्य योजनाकारका रूपमा हेरेको बताएको थियो ।

अनुसन्धानकर्ताहरूले आक्रमणबाट उत्पन्न सुरक्षा त्रासलाई राजापाक्ष परिवारको राजनीतिक समर्थन बढाउन प्रयोग गर्ने उद्देश्य रहेको आरोप लगाएका छन् । राजापाक्ष परिवारको राजनीतिक समूहले राज्यका निकाय आक्रमणमा संलग्न रहेको आरोप अस्वीकार गरेको छ । राजापाक्ष समर्थकहरूले इस्लामवादी अतिवादीहरूले आफ्ना सम्पर्क व्यक्तिलाई धोका दिँदै आक्रमण स्वतन्त्र रूपमा गरेको दाबी गर्दै आएका छन् । रासस