ट्रम्पले संयुक्त राष्ट्रसङ्घमा युद्ध र शान्तिको दाबी राख्ने


संयुक्त राष्ट्रसङ्घ, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मङ्गलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त्य गर्ने आफ्नो पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब देशलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने सम्भावना छ । उनले हर्मुज जलघाँटीमा युद्धका कारण उत्पन्न अवरोध र त्यसबाट भएको आर्थिक क्षतिबारे पनि आफ्नो पक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले ट्रम्पले आफूलाई शान्ति निर्माता र सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्ने बताए । महासभामा उनले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचना पनि दोहोर्‍याउन सक्ने अनुमान गरिएको छ ।

गत वर्ष ट्रम्पले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आफूले प्रयोग गर्ने क्रममा एस्केलेटर रोकिएको र टेलिप्रोम्प्टरमा समस्या आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले एस्केलेटरको जाँच गरिएको र अमेरिकी प्रतिनिधिमण्डलका लागि टेलिप्रोम्प्टरको नयाँ व्यवस्था गरिएको बताएको छ ।

महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्नेछन् । महासभाको उच्चस्तरीय बैठकमा युद्ध र कृत्रिम बौद्धिकतासहित विश्वव्यापी सुरक्षा तथा आर्थिक चुनौतीबारे छलफल हुँदैछ ।

ट्रम्पअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्बोधन गर्नेछन्  । पुनःनिर्वाचनको तयारीमा रहेका लुलाले ट्रम्पलाई ब्राजिलको आगामी निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् । महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ ।