प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, बिदाइमा पुगेका थिए दुई मन्त्री


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क जानेछन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।

यसपटक प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा विमानस्थलमा विगतमा हुने गरेको औपचारिक बिदाइ, रेड कार्पेट तथा नेपाली सेनाको सलामीको कार्यक्रम राखिएको थिएन।


प्रधानमन्त्री कार्यालयले यसअघि नै विदेश भ्रमणमा जाँदा दिइने औपचारिक बिदाइ तथा सेनाको सलामी कार्यक्रम नरहने जनाएको थियो। 

सोहीअनुसार शाह विमानस्थलमा गाडीबाट ओर्लिएपछि कुनै औपचारिक कार्यक्रमबिना सिधै विमानतर्फ लागेका थिए।

प्रधानमन्त्रीलाई बिदाइ गर्न गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खड्गराज पौडेल विमानस्थल पुगेका थिए। उनीहरू औपचारिक सरकारी प्रतिनिधिमण्डलका रूपमा नभई आफ्नै हिसाबले प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थल पुगेका हुन्। प्रधानमन्त्रीलाई जहाजनिर बसेर उनीहरुले बिदाइ गरे । उनीहरुकाे हातमा पनि कुनै फुलगुच्छा थिएन ।

प्रधानसेनापतिसहित उच्च सरकारी अधिकारीहरूको भने विमानस्थलमा उपस्थिति थिएन।