राहुघाटको परिक्षण उत्पादन थालियो


म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकेर परिक्षण उत्पादन सुरु भएको हो। आयोजनाका प्रमुख राजबहादुर बिष्टले परिक्षणका लागि आजदेखि राष्ट्रिय प्रणालीमा विद्युत् जोडिएको जानकारी दिए।

“बाँध, डिसेण्डर, सुरुङ, स्विचयार्डलगायत सबै भौतिक संरचना र विद्युतगृहका उपकरणको परिक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो,” प्रमुख बिष्टले भने, “२०/२० मेगावाट क्षमताका दुई वटै ‘युनिट’ चलाएर परिक्षणका लागि केन्द्रिय प्रणालीमा जोडिएको छ ।”

विस २०६६ मा ठेक्का सम्झौता गरेको भारतीय ठेकेदार आईभिआरसिएलको कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते रु ६ अर्बमा भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ठेक्का सम्झौता गरेको थियो।

सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाई भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरी रहेका छन्। तिल्केनीचौरमा विद्युतगृह रहेको आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ निर्माण भएको छ।

विद्युतगृह परिसरमा स्विचयार्ड र कालीगण्डकी कोरीडोरअन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रशारण लाइन निर्माण भएको छ । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो। रासस