चितवन, ७ असोज । समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिन्छन् । दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उनले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताए । उनले भने, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उनले सुझाव दिए ।
सामान्यतया गर्भधारणदेखि बच्चाको दुई वर्ष उमेरसम्मको समयलाई सुनौलो हजार दिन भनिन्छ । यो समय शिशुको वृद्धि, मस्तिष्क विकास, पोषण र हेरचाहका हिसाबले अति नै महत्त्वपूर्ण मानिन्छ । राम्रो पोषण, मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबुत हुन्छ, यसको असर पछि सिकाइ, स्वास्थ्य र समग्र जीवनमा देखिन्छ । यही समयमा आँखा परीक्षणसमेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उनी बताउँछन् ।
बालबालिकामा आँखाको ढकनी झर्ने, आँखाको नानीमा फुलो पर्ने, मोतियाबिन्दु हुने, झिमझिम हुने, छड्के आँखाजस्ता समस्या देखापर्ने गर्दछ । ती समस्या शल्यक्रिया र चश्मामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । बालबालिकाले धेरै नजिक गएर हेर्ने, झिमझिम गर्ने, आँखा पुछिरहने, पढाएको नबुझेर साथीसँग सोध्नेजस्ता लक्षण देखिएमा तत्काल परीक्षण गर्न उनको सुझाव छ । ३४ हप्ता र त्यसभन्दा अघि जन्मिएमा, बच्चाको तौल दुई किलोभन्दा तल भएका, लामो समय बाल सघन उपचारकक्षमा बसेका बच्चाहरूको तीनदेखि चार हप्तामा आँखाको परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।
भरतपुर आँखा अस्पतालमा सन् २०२५ मा १९ हजार ३१४ बालबालिकाले आँखा उपचार सेवा लिएका थिए । अस्पताल आउने बिरामीमध्ये ११ प्रतिशत बालबालिका हुन् । यो सङ्ख्या सन् २०२४ मा १९ हजार ९१६ रहेको थियो । सन् २०२१ मा आठ हजार ३१, सन् २०२२ मा १३ हजार ९८९, सन् २०२३ मा १९ हजार ७७६ बालबालिकाले आँखाको परीक्षण गरेका थिए । यसमध्ये ५७ प्रतिशत हाराहारी बालक रहेको तथ्याङ्क छ । तीमध्ये सन् २०२५ मा ११९ जना, सन् २०२४ मा १०४ जना, सन् २०२३ मा १५८ जना, सन् २०२२ मा ९९ जना र सन् २०२१ मा ४८ जना बालबालिकाको आँखाको शल्यक्रिया गरिएको छ ।
उनीहरूको मोतियाबिन्दु र डेढो पनाको शल्यक्रिया गरिएको हो । अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लामा रहेका आँखा अस्पताल, उपचार केन्द्र र शिविरमार्फत बालबालिकाको आँखा परीक्षण र उपचार गर्दै आएको बताए । अस्पतालले भरतपुरसहित विभिन्न जिल्लाका २५ ठाउँबाट आँखा उपचार सेवा दिँदै आएको छ । विद्यालयहरूमा आँखा शिविरमार्फत बालबालिकाको निःशुल्क आँखा उपचार गरिँदै आइएको छ । अस्पतालले बच्चाबच्चीका लागि मात्रै गत आर्थिक वर्षमा ७० वटा विद्यालयमा निःशुल्क शिविर गरेको थियो । हरेक वर्ष विद्यालयमा शिवि मार्फत विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको श्रेष्ठ बताउँछन् ।
आमनागरिकलाई बालबालिकाको आँखा समयमा उपचार गर्न सकेमा आँखामा देखिएको समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा अझै सबै बालबालिकाको आँखा परीक्षण हुन नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया