संयुक्त राष्ट्रसङ्घ, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ ।
राष्ट्रपति ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले मङ्गलबार महासभाको अवसरमा इरानी अधिकारीसँग भेट गरेका थिए । वार्ताबारे विस्तृत जानकारी नदिँदै ट्रम्पले भेटलाई ‘निकै राम्रो’ बताए । यद्यपि, उनले इरानी अधिकारीहरू उच्च तहका नभएको बताए ।
विटकफले सामाजिक सञ्जाल एक्समार्फत मध्यस्थकर्ताको सहयोगमा अमेरिकी र इरानी टोलीबीच वार्ता भएको जानकारी दिए । उनले संवाद रचनात्मक र आशाजनक हुने अपेक्षा व्यक्त गरेका छन् । जुनमा मध्यस्थतामा भएको छोटो अवधिको युद्धविराम भङ्ग भएपछि अमेरिका–इरान संवाद कमजोर बनेको थियो । जुलाईको सुरुआतमा भने दुवै पक्षका वार्ताकारले कतार र पाकिस्तानका मध्यस्थकर्तासँग दोहामा अप्रत्यक्ष वार्ता गरेका थिए ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट गर्न तयार रहेको बताएका थिए । उनले समस्या समाधानका लागि सम्बन्धित पक्षसँग संवाद गर्नु महत्त्वपूर्ण हुने बताए ।
राष्ट्रपति ट्रम्पले खाडी सहयोग परिषद्का सदस्य राष्ट्र बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेता तथा वरिष्ठ अधिकारीसँग पनि इरान युद्धबारे छलफल गरे । महासभालाई सम्बोधन गर्दै उनले इरानलाई हर्मुज जलघाँटी पुनः पूर्ण रूपमा खुलाउन र युद्ध अन्त्यको उपाय खोज्न वार्तामा फर्कन आग्रह गरे ।
तर सम्झौता हुन नसके इरानविरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिँदै उनले आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताए । इरानलाई पुनर्निर्माणको अवसर दिने वा इस्लामिक गणतन्त्रलाई नष्ट गरेर भविष्यमा पुनः आक्रमण गर्न नदिने विकल्प रहेको उनको भनाइ थियो । उनको सम्बोधनका क्रममा अधिकांश इरानी प्रतिनिधिमण्डल सभाकक्षबाट बाहिरिएको थियो ।
राष्ट्रपति ट्रम्पले महासभामा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउन यस वर्ष गरिएको अमेरिकी सैन्य कारबाही तथा ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने नयाँ सुरक्षा सम्झौताको पनि उल्लेख गरे । उनले डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार ग्रिनल्यान्ड डेनमार्ककै भूभाग रहनेछ ।
उनले बेलायत, जापान, दक्षिण कोरिया र युक्रेनका नेतासँग पनि भेटवार्ता गरे । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँगको भेट भने मदुरोलाई सत्ताबाट हटाउने अमेरिकी सैन्य कारबाहीपछि पहिलो भेट थियो ।
महासभामा इरान युद्ध प्रमुख विषय बनेको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमणपछि त्यहाँको आणविक क्षमता ध्वस्त पारिएको दाबी गरेका थिए । यसपटक पनि उनले इरानबाट उत्पन्न आणविक जोखिमलाई सम्बोधन गर्नुपर्ने बताए ।
अमेरिका र इजरायलको सैन्य कारबाहीमा इरानका केही शीर्ष नेता मारिएको तथा उसको हवाई र नौसैनिक क्षमतामा ठूलो क्षति पुगेको अमेरिकी पक्षको दाबी छ । अमेरिकी प्रतिबन्ध र इरानी तेलमाथिको नाकाबन्दीले तेहरानमाथि आर्थिक दबाब बढेको छ भने युद्धका कारण ऊर्जा बजार र तेलको मूल्य प्रभावित भएको छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्धप्रति पनि निराशा व्यक्त गर्दै युद्ध अन्त्य हुने अपेक्षा दोहोर्याए । उनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेको आक्रमण र रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा गरिरहेको आक्रमणले विश्वव्यापी तेल बजारमा अस्थिरता बढाएको बताए ।
रुसलाई लक्षित नयाँ प्रतिबन्धसम्बन्धी कानूनले रुसी तेल वा प्राकृतिक ग्यासका प्रमुख पाँच आयातकर्तामाथि आवश्यक परे शतप्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने अधिकार दिएको उनले बताए । “आवश्यक परेमा मैले ती प्रयोग गर्नुपर्नेछ”, उनले भने, “यो हत्या रोक्ने समय हो ।” रासस




प्रतिक्रिया