काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। आफूले कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली जनताको भोटबाप्र प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।
धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा आफू केही समयमै प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरेका छन्। ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभएछ। उहाँको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ,’ उनले भने।
देश विकासको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक रहेको बताउँदै साम्पाङले बस चलाउन बसको चाबी हातमा हुनुपर्ने उदाहरण प्रस्तुत गरे। प्रधानमन्त्री बन्नका लागि विदेशी शक्तिको चाकरी वा दलाली नगर्ने दाबी गर्दै उनले भने, ‘भारत, चीन वा कुनै ग्रे जोनको आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन, नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो।’
साम्पाङले आफू प्रधानमन्त्री बनेपछि तीन करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने बताए। ‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन। देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नुपर्छ,’ उनले भने।
आफूलाई ‘आगो बोकेको मान्छे’का रूपमा प्रस्तुत गर्दै साम्पाङले विरोधी तथा देशी–विदेशी तत्त्वलाई नजिस्काउन चेतावनीसमेत दिए। ‘धरान उपमहानगरपालिकामा ठूला–ठूला राजनीतिक दलहरूलाई पछारेर एक्लै माइक बोकेर निस्किएको मान्छे हो। अहिले त मसँग लाखौँ श्रमदाताहरू साथमा छु,’ उनले भने।
विदेशीको चाकरी गरेर जीवन गुजारिरहेकाहरूलाई खबरदारी गर्दै साम्पाङले आफूलाई जति पछारे पनि उत्तिकै माथि उफ्रिने ‘कहिल्यै नफुट्ने भकुन्डो’सँग तुलना गरे।




प्रतिक्रिया