दोलखाका ७४ वडामध्ये कांग्रेसको कान्छा वडा सभापति बने सन्तोष श्रेष्ठ


दोलखा । शैलुङ गाउँपालिका–८ का सन्तोष श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दोलखा जिल्लाका ७४ वडामध्ये सबैभन्दा कान्छो वडा सभापति बनेका छन्।


युवा उमेरमै राजनीतिक संगठनमा सक्रिय हुँदै आएका श्रेष्ठले २८ वर्षको उमेरमा शैलुङ–८ को वडा सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्। उनी १८ वर्षकै उमेरमा तरुण दल शैलुङ–८ को सचिव बनेका थिए भने २३ वर्षको उमेरमा वडा सचिवको जिम्मेवारी सम्हालेका थिए।


राजनीति, शिक्षा तथा सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ स्थानीय युवामाझ परिचित रहेको बताइन्छ। स्पष्ट विचार र आफ्ना धारणा निर्धक्क रूपमा राख्ने श्रेष्ठले स्थानीय विकासका लागि पर्यटन र कृषिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै आएका छन्।


शैलुङको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सके स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनको बुझाइ छ। कृषि उत्पादनको आधुनिकीकरण तथा बजारीकरणमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा समेत उनले जोड दिँदै आएका छन्।


शिक्षा क्षेत्रमा समेत अनुभव हासिल गरेका श्रेष्ठ भीमेश्वर एकेडेमी, शैलुङ–८ का पूर्व प्रधानाध्यापक हुन्। उनले भूमेस्थान माध्यमिक विद्यालय, मेलुङ–३ मा पूर्व लेखापालका रूपमा समेत काम गरिसकेका छन्।