गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान


गुल्मी, ८ असोज । पछिल्लो तीन वर्षमा रेबिजका कारण तीन जनाको मृत्यु भएपछि यहाँ रेबिज रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क खोप तथा सचेतना अभियान सञ्चालन गरिएको छ ।

रेबिजका कारण कालीगण्डकी गाउँपालिकामा दुई जना र गुल्मीदरबार गाउँपालिकामा एक जनाको मृत्यु भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लामा सप्ताहव्यापी निःशुल्क खोप तथा सचेतना अभियान सञ्चालन गरेको हो ।

सोही अभियानअन्तर्गत भेटेरिनरी अस्पतालमा पशु चिकित्सकमार्फत घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइ रहेको कार्यालय प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिए ।

अभियानकै क्रममा रेबिज रोगको जोखिम, लक्षण तथा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी गराउन विद्यालय स्तरसम्म पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

यसै क्रममा सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा बिहीबार सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा कार्यालय प्रमुख पाण्डेले रेबिजबाट जोगिन अपनाउनुपर्ने सावधानी, सम्भावित जोखिम तथा बच्ने उपायबारे विद्यार्थीलाई जानकारी गराए ।

विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीस र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन काउछाले रेबिजबाट जोगिन विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताए ।

रेबिजको मुख्य कारका रुपमा रहेको सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण गर्न कार्यालयले बन्ध्याकरण कार्यक्रमलाई समेत मुख्य प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लाका १२ वटै स्थानीय तहको सहभागितामा एक हजार दुई सय ४७ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

तीमध्ये ५५७ वटा डाँगो र ६९० वटा डाँगी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीकी डाक्टर सोनिया थापाले जानकारी दिए । कार्यालयले गुल्मीलाई रेबिज मुक्त जिल्ला बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरेको जनाएको छ ।

त्यस्तै कार्यालयले घरपालुवा कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा सामुदायिक कुकुर नियन्त्रण गरी बध्याकरण गर्न र अनिवार्य रुपमा रेबिजविरुद्धको खोप लगाउने अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।