रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशन प्रतिनिधिका लागि मन्थली नगरपालिका–४ सालुका अनन्त पुलामी मगरले उम्मेदवारी घोषणा गरेका छन्।
सानै उमेरदेखि नेतृत्व र सामाजिक क्षेत्रमा सक्रिय पुलामी मगरले १३ वर्षको उमेरमा परिवर्तनशील बाल क्लबको नेतृत्व सम्हालेका थिए।
१७ वर्षको उमेरमा संघीय समाजवादी पार्टी रामेछापको जिल्ला युवा सचिव बनेका उनी २१ वर्षमा गैराथोक युवा क्लब स्थापना गरी अध्यक्षको जिम्मेवारीमा पुगे।
कांग्रेसको राजनीतिमा सक्रिय हुँदै २४ वर्षको उमेरमा १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका पुलामी मगर २५ वर्षमा स्थानीय तह निर्वाचनबाट मन्थली–४ सालुको वडा सदस्यमा निर्वाचित भएका थिए।
हाल नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्षसमेत रहेका पुलामी मगर संघको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। उनले करिब एक दशकदेखि मगर संघमार्फत सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन्।
युवा पुस्तामा सक्रिय पुलामी मगरले पार्टी संगठनलाई थप मजबुत बनाउने, युवाको सहभागिता बढाउने तथा सामाजिक क्षेत्रका मुद्दालाई पार्टीको मूलधारमा जोड्ने उद्देश्यसहित बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।





प्रतिक्रिया