प्रतिलिपि अधिकारको एक पक्षीय दाबीप्रति स्वतन्त्र संगीत समाज नेपालको आपत्ती,अधिकारको दुरुपयोग नगर्न चेतावनी!



काठमाडौं । नेपाली संगीत उद्योगमा प्रतिलिपि अधिकार हस्तान्तरण, करारको अवज्ञा तथा एकपक्षीय स्वघोषणामार्फत प्राप्त प्रतिलिपि अधिकारसम्बन्धी प्रमाणको दुरुपयोग भइरहेको भन्दै स्वतन्त्र संगीत समाज नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

समाजले शुक्रबार रिपोर्टस कलबमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेपाली गीत–संगीत क्षेत्रको विकास, संरक्षण तथा व्यावसायिक मर्यादा कायम गर्न स्रष्टा, उत्पादक, प्रकाशक तथा सम्बन्धित अधिकारधनीबीच भएका कानुनी सम्झौता र प्रतिलिपि अधिकार हस्तान्तरणको सम्मान तथा कार्यान्वयन आवश्यक रहेको बताएकाे छ ।

समाजका अनुसार गीत तथा संगीतको सिर्जना, उत्पादन, प्रकाशन, वितरण तथा व्यावसायिक प्रयोगका क्रममा सम्बन्धित पक्षबीच प्रचलित कानुनबमोजिम लिखित सम्झौता तथा सहमतिमा अधिकार हस्तान्तरण हुने गर्दछ। तर, हस्तान्तरण भइसकेको अधिकारलाई पुनः दाबी गर्ने, एकपक्षीय रूपमा अधिकार घोषणा गर्ने वा पूर्वसम्झौतासँग बाझिने गतिविधि गर्ने प्रवृत्तिले संगीत उद्योगमा अन्योल र विवाद सिर्जना गर्न सक्नेछ।

विशेषगरी एकपक्षीय रूपमा गरिएको घोषणा, निवेदन वा दाबीका आधारमा प्राप्त प्रमाणलाई पूर्वसम्झौता तथा अन्य कानुनी कागजातको विपरीत प्रयोग गर्न नहुने समाजले स्पष्ट पारेको छ। त्यस्ता प्रमाणको वास्तविक कानुनी प्रभाव र प्रयोगको सीमा सम्बन्धित कानुनका आधारमा निर्धारण हुनुपर्ने समाजको धारणा छ।

त्यस्तै, प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट जारी प्रमाण वा अभिलेखलाई सम्बन्धित अधिकारको अन्तिम तथा निर्विवाद प्रमाणका रूपमा प्रस्तुत गरी वास्तविक अधिकारधनीको कानुनी तथा करारजन्य अधिकार कमजोर पार्ने प्रयास हुन नहुने समाजका अध्यक्ष शम्शेर बहादुर श्रेष्ठले बताए । यस विषयमा सम्बन्धित निकायबाट आवश्यक स्पष्टता र छानबिन हुनुपर्ने मागसमेत श्रेष्ठले गरे ।

समाजले स्रष्टा तथा उत्पादक दुवै पक्षको वैधानिक अधिकार र व्यावसायिक प्रतिष्ठाको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। अधिकारसम्बन्धी विवादलाई सार्वजनिक आरोप–प्रत्यारोप वा एकपक्षीय घोषणामार्फत नभई सम्बन्धित कानुनी प्रक्रिया र संस्थागत संयन्त्रबाट समाधान गर्नुपर्ने अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।

पत्रकार सम्मेलनमार्फत समाजले सम्बन्धित सबै पक्षलाई निम्न विषयमा ध्यान दिन विशेष आग्रह गरेको छः

– कानुनी रूपमा सम्पन्न प्रतिलिपि अधिकार हस्तान्तरण तथा करारको सम्मान गर्नुपर्ने।
-सम्झौताविपरीत हुने अधिकार दाबी तथा गतिविधि निरुत्साहित गर्नुपर्ने।
– एकपक्षीय स्वघोषणा वा दाबीलाई आधार बनाएर वैधानिक अधिकारमाथि प्रश्न नउठाउनुपर्ने।
-प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट जारी प्रमाण वा अभिलेखको प्रयोग प्रचलित कानुन र वास्तविक अधिकार अवस्थासँग मेल खाने गरी गर्नुपर्ने।
– कुनै पक्षविरुद्ध सार्वजनिक आरोप वा दाबी गर्नुअघि तथ्य तथा प्रमाण यकिन गर्नुपर्ने।
– स्रष्टा तथा उत्पादक दुवै पक्षको वैधानिक अधिकार र व्यावसायिक प्रतिष्ठा संरक्षण गर्नुपर्ने।
-अधिकारसम्बन्धी विवादलाई सार्वजनिक विवाद र आरोप–प्रत्यारोपबाट नभई कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने।

समाजका अध्यक्ष श्रेष्ठले नेपाली संगीत उद्योगको दीर्घकालीन विकासका लागि स्रष्टाको सिर्जनात्मक अधिकारसँगै उत्पादक तथा प्रकाशकको वैधानिक र करारजन्य अधिकारको समेत सम्मान र संरक्षण आवश्यक रहेको उल्लेख गरे ।

स्वतन्त्र संगीत समाज नेपालले नेपाली गीत–संगीत क्षेत्रमा स्पष्ट, पारदर्शी, जिम्मेवार र कानुनसम्मत अधिकार व्यवस्थापनको वातावरण निर्माण गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।