काठमाडौं । निरन्तर वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढेको छ। शुक्रबार दिउँसो ३ बजेसम्म पानीको सतह १ हजार ५२३.२७ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
जलाशयमा प्रतिघण्टा करिब १० सेन्टिमिटरका दरले पानी थपिँदैछ। कुलेखानीको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेकाले पानीको सतह नियन्त्रण गर्न कुलेखानीका तीनवटै जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाँध क्षेत्रमा थप जनशक्ति परिचालन गरिएको छ भने डिजेल जेनेरेटर र अन्य सुरक्षा प्रणाली तयारी अवस्थामा राखिएको छ। आपत्कालीन अवस्था आए स्थानीयलाई जानकारी गराउन पाँच किलोमिटरसम्म सुनिने साइरनसमेत तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
गत वर्ष पनि पानीको सतह १ हजार ५३० मिटर नाघेपछि कुलेखानी बाँधका गेट आंशिक रूपमा खोलिएको थियो।




प्रतिक्रिया