काठमाडौं । मधेशमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ आज अभियान घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियान घोषणा गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य राखिएको केशव झाले जानकारी दिए ।
अभियान घोषणा कार्यक्रममा बोल्दै झाले युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए । उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम, शिक्षित र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताए ।
मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्ने प्रस्ताव राखिए पनि त्यसलाई स्वीकार नगरिएपछि नयाँ अभियान अघि बढाउनुपरेको झाको भनाइ थियो ।
उनले राजनीतिमा समाजका सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने बताए । राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गरे ।
अभियानले राजनीतिलाई समाज परिवर्तनको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्दै मधेशसहित देशभर वैकल्पिक राजनीतिक शक्तिको आधार निर्माण गर्ने जनाएको छ।
हुंकार मधेश किन?
१. मौलिकतावादको वैचारिकी र सामुदायिक समाजवादको अर्थनीति समाजमा स्थापित गराउन,
२. पाँच “स” अर्थात सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिको मान्यता अनुरुप शासन सत्ता कायम गराउन,
३. जातीय भेदभाव र छुवाछुत अन्त्य र सामुहिक पहिचान कायम गराउन नामबाट थर हटाउन प्रेरित गर्ने अभियान संचालन गराउन,
४. “One time president all time president” को तानाशाही एवं अलोकतान्त्रिक प्रवृतिको अन्त्य गराउन,
५. पार्टी सिस्टमको पद र लाभको पदमा एउटै व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी अवसर नपाउने व्यवस्था लागू गराउन,
६. संगठनको कुनैपनि कार्यकारी तहको अध्यक्ष/संयोजक हुन अधिकतम ४९ वर्ष र कुनै पनि समितिमा रह्न अधिकतम ६५ वर्षको उमेर हद लागू गराउन,
७. संगठन भित्र तीन उमेर समूह चालीस भन्दा मुनि ४०%, ६० भन्दा मुनि ४०% र ६० भन्दा माथि २०% अनुपात रह्ने व्यवस्था लागू गराउन,
८. अध्यक्षीय प्रणालीको तानाशाही एवं नोकरशाही प्रवृतिको अन्त्य गर्न लोकतान्त्रिक एवं सामुहिक नेतृत्व प्रणाली स्थापित गराउन,
९. “राजनीति र उद्यम संगसंगै” को मान्यता स्थापित गराउन,
१०. योग्य र ज्ञानी व्यक्तिले शासन गर्नुपर्ने मान्यतालाई अंगिकार गर्न संगठनको संयोजक/अध्यक्ष बन्न केन्द्रमा स्नातकोत्तर र मातहतको समितिमा स्नातक हुनुपर्ने व्यवस्था कायम गराउन,
१२. पुर्वीय दर्शन, सभ्यता, सनातन संस्कृति, पुर्वीय ज्ञानप्रणालीको रक्षा र संरक्षण गराउन,
१३. संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गराउन, संविधान संशोधन गराई अधुरा माग पूरा गराउन, संघीयतालाई अधिकार सम्पन्न बनाउन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन,
१४. भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज तथा मनोविज्ञान निर्माण गराउन,
१५. प्रादेशिक पहिचान राष्ट्रियताको आधारमा र केन्द्रीय पहिचान धर्मको आधारमा कायम गराई ” संघीय लोकतान्त्रिक हिन्दु गणराज्य घोषणा गराउन”,
१६. हालको कुल जिडिपी ४२ बिलियन अमेरिकी डलरबाट दस वर्ष भित्र ५०० बिलियन डलर पुर्याउने योजना लागू गराउन तथा सोही अवधिमा हाल रहेको प्रतिव्यक्ति आय पन्द्र्ह गुणाले वृद्धि गराउन,
१७. समग्र थरुहट-मधेश एक स्वायत्त प्रदेश लागू गराउन,
१८. नेपाल भारत सिमामा बस्ने दुवै तर्फका जनतालाई सम्मानपुर्वक आवतजावत गर्न र दैनिक उपभोग्य वस्तुमा ट्याक्समुक्त हुनुपर्ने वातावरण निर्माण गराउन,
१९. चुरेलाई संरक्षित क्षेत्र घोषणा गराई चुरे व्यवस्थापनको निम्ति प्राधिकरण निर्माण गराउन,
२०. किसानहरुलाई राज्यको तर्फबाट हरेक प्रकारको सुविधा र अनुदान प्रत्यक्ष रूपमा उपलब्ध हुने वातावरण निर्माण गराउन,
२१. आम जनमानसमा राजनीति प्रति उत्पन्न भएको घृणा र निराशालाई प्रेम र आशामा बदल्न सोही अनुरुपको आचरण निर्माण गराउन




प्रतिक्रिया