प्रधानमन्त्री बालेनको राष्ट्रसंघमा सम्बोधन सकारात्मक, दमदार र स्पष्ट थियो: ऋषि धमला


काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको संयुक्त राष्ट्रसंघको महासभामा गरिएको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको बताएका छन्। ‘सकारात्मक छ , दमदार छ । प्रधानमन्त्रीको सम्बोधनले अन्तराष्टिय समुदायको ध्यान आकर्षित गरेको छ,’ उनले भने,‘रसुवा बाढीबाट भएको ठुलो क्षतीको बारेमा प्रधानमन्त्रीले स्पष्टसँग राख्नुभयो ।’

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले प्रधानमन्त्री शाहको भ्रमण छोटो भए पनि सम्बोधन स्पष्ट र प्रभावकारी रहेको बताए। प्रधानमन्त्री बालेनले शुक्रबार बिहान संयुक्त राष्ट संघको ८१ औँ महासभामा सम्बोधन गरेका थिए ।

धमलाले रसुवा बाढीबाट भएको ठूलो क्षति, ग्यास अभावलगायतका विषय प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राखेको बताए।

‘प्रधानमन्त्रीकाे छाेटाे भ्रमण भएपनि दमदार भाषण गर्नुभयो। उहाँको स्पष्ट विचारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने वातावरण बनेको छ,’ धमलाले भने।

धमलाले आफू पनि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएको स्मरणसमेत गरे।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१औं महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असर, दीर्घकालीन प्रभाव र त्यसलाई न्यूनिकरण गर्न विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका थिए । 

हिमालयको काखमा रहेको देशबाट मानवजातिले छिट्टै भोग्नुपर्ने गम्भीर चेतावनी लिएर आएको भन्दै प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघमा असाधारण स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको बताए। 

‘म चाहन्थें कि आज म यहाँ केवल विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकाङ्क्षाबारे कुरा गर्न उभिन सकूँ। तर यसको सट्टा, मैले विशाल स्तरको मृत्यु र विनाशबारे बोल्नुपर्ने भएको छ,’ बालेनले अगाडि भने, ‘ती परिवारहरूबारे, जो आफ्ना प्रियजनको प्रतीक्षामा छन्, तर उनीहरू अब कहिल्यै घर फर्कने छैनन्। ती समुदायहरूबारे, जो हिलो, ढुंगा र पानीभित्र आफ्ना मानिसहरू खोजिरहेका छन्, जसका शवहरू सायद अब कहिल्यै फेला पर्ने छैनन्।’ 

भदौ १० मा भोटेकोसी बाडीले ल्याएको विनासको कथा सुनाउँदै बालेनले संयुक्त राष्ट संघमा भने, ‘ती पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका आधारहरूबारे, जुन केही मिनेटमै बगेर गए। र, एउटा त्यस्तो देशबारे, जसले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा गरिरहेको निरन्तर प्रगतिलाई बीचमै रोकिदिएको छ।’

उनले भोटेकोसी बाढीलाई संयुक्त राष्ट्र संघमा ‘हिमालय सुनामी’ भनेर रेकर्ड गराए । उनले भने, ‘चार साताअघि विश्वले नेपालका हिमाली समुदायहरूलाई बर्बरतापूर्वक बगाएर लगेको विनाशकारी बाढीका भयावह दृश्यहरू देख्यो। धेरैले यसलाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’ भनेका छन्।’