काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशभर मौसम बदलीसँगै वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण खोलानालामा पानीको सतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै बाढीपहिरोको जोखिमलाई आधार बनाएर ७७ जिल्लालाई रातो, सुन्तला र पहेँलो गरी तीन तहमा वर्गीकरण गरेको छ।
जसमध्ये २५ जिल्ला उच्च जोखिममा रहेका छन्। यी जिल्लामा जोखिमलाई ध्यानमा राख्दै दिउँसो र राति दुवै समयमा सवारी आवागमन पूर्ण रूपमा रोक्न प्राधिकरणले सुझाव दिएको छ।
त्यस्तै २९ जिल्ला मध्यम जोखिममा परेका छन्। ती जिल्लामा रातिको समयमा सवारी सञ्चालन रोक्न र दिउँसोको अवस्था हेरेर मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन भनिएको छ। बाँकी २३ जिल्लालाई सतर्कता अपनाउनुपर्ने क्षेत्रका रूपमा पहेँलो सूचीमा राखिएको छ।




प्रतिक्रिया