काठमाडौँ । सरकारले दलित समुदायको आधिकारिक परिभाषा र उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूची सार्वजनिक गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्बाट स्वीकृत विवरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा प्रकाशित गरेको हो।
राजपत्रअनुसार विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार सहँदै आएका तथा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र रोजगारीलगायत क्षेत्रमा विभेद, उत्पीडन र बहिष्करणमा परेका समुदायलाई दलितका रूपमा परिभाषित गरिएको छ। राज्य निर्माणमा श्रम, सीप र कलामार्फत योगदान दिएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत यसमा समेटिएको छ।
सरकारले दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेसी दलित गरी दुई समूहमा वर्गीकरण गरेको छ। पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदाय समेटिएका छन्।
विश्वकर्मा समुदायका ३४८, परियारका २७१ र मिजार समुदायका २२९ थर तथा उपथर सूचीमा समावेश छन्। वादीका ३७ र गन्धर्व समुदायका १६ थर पनि सूचीकृत गरिएको छ।
यसैगरी दलित र गैरदलित दुवै समुदायले प्रयोग गर्ने समान थरलाई छुट्टै सूचीमा राखिएको छ। खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल र पोखरेललगायत २१४ थर यस सूचीमा छन्।
मधेसी दलिततर्फ २१ जाति तथा समुदाय समेटिएका छन्। चमार, मुसहर, दुसाध (पासवान), तत्मा, धोबी, बाँतर, डोम, खटिक, नटुवा, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत समुदायलाई सूचीमा राखिएको छ।




प्रतिक्रिया