मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरला नाका क्षेत्र सेताम्मे भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार, मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको हो ।
कोरला नाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरला नाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् ।
कोरला नाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ । बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।
नेपाल मौसम विज्ञान विभागले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने चेतावनी दिएको थियो । मुस्ताङको कोरला नाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसम प्रतिकूलताका कारण बाढीपहिरो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सूचित गरेको छ ।
सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ देखि बिहान ६ बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए ।
त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सृजना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ । रासस




प्रतिक्रिया