काठमाडाैँ । यस वर्षको सुरुदेखि ५५ हजारभन्दा बढी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसङ्घले दिएको छ।
सुडानको नियमित सेना र अर्धसैनिक र्यापिडसपोर्ट फोर्सेस (आरएसएफ) बिच सन् २०२३ अप्रिलमा सुरु भएको युद्धले दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको सहायताकर्मीहरूले अनुमान गरेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कट सिर्जना गरेको छ।
संयुक्त राष्ट्रसंघका आँकडाले देखाएका छन्, “हाल करिब एक करोड १३ लाख मानिस यस द्वन्द्वका कारण जबरजस्ती विस्थापित छन्। तीमध्ये ६४ लाख देशभित्रै र ३५ लाख सीमापार शरणार्थीका रूपमा छन् ।”
विस्थापितमध्ये करिब १० लाख चाड प्रवेश गरेका संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले शुक्रबार जानकारी गराएको छ।
सुडानका केही भागमा निरन्तर लडाइँ र बढ्दो असुरक्षाले थप परिवारहरूलाई सीमापार सुरक्षा खोज्न बाध्य पार्दै गरेको चेतावनी यूएनएचसीआरले दिएको छ।
“यस वर्ष अहिलेसम्म ५५ हजारभन्दा बढी सुडानी शरणार्थी पूर्वी चाड भागेका छन्,” सुडानको स्थितिबारे संयुक्त राष्ट्रसङ्घका क्षेत्रीय शरणार्थी संयोजक मामादू दियान बाल्डेले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।
पूर्वी र दक्षिणी अफ्रिकाका लागि यूएनएचसीआरका प्रमुखसमेत रहेका बाल्डेले ‘पछिल्लो एक हप्तामा आगमनको गति तीव्र रूपमा बढेको’ चेतावनी दिए।
उनले भने, “अहिले पूर्वी चाडका आद्रे र तिने सीमा क्षेत्रबाट दैनिक ४०० भन्दा बढी मानिस प्रवेश गर्दैछन्, जुन अघिल्ला महिनाहरूको दैनिक दरभन्दा करिब २० गुणा बढी हो।”
विशेषगरी, सुडानको डार्फरका साथै कोर्डोफान र ब्लू नाइल राज्यमा स्थिति विकराल रहेको उनले बताए। लडाइँ, हवाई आक्रमण र ड्रोन हमलाहरूले थप मानिस भाग्न बाध्य पार्दैछन् र मानवीय पहुँच जटिल बनाएका छन्।
त्यसैबेला बाल्डेले ‘मानवीय सहयोग आवश्यकताअनुसार नपुगेको’ बताउनुभएको छ। यूएनएचसीआरले सुडान सङ्कटसँग जोडिएका क्षेत्रीय शरणार्थी आवश्यकता पूरा गर्न यस वर्ष आवश्यक १.६ अर्ब डलरमध्ये अहिलेसम्म मात्र १८ प्रतिशत प्राप्त गरेको बताएको छ।
“चाडमा एक लाख ९० हजारभन्दा बढी शरणार्थी सीमा क्षेत्रमा कठिन अवस्थामा छन्,” उनले भने। अधिकांश शरणार्थी अहिले दैनिक आवश्यक पानीको न्यूनतम मात्राको आधाभन्दा कममा बाँचिरहेका छन् ।
उदाहरणका लागि तिनेको स्थानान्तरण केन्द्रमा यसपहिले नै चार हजार ३०० भन्दा बढी मानिस बसिरहेका छन्। त्यहाँ आश्रय, पानी, सरसफाइ र सुरक्षा सेवाको तत्काल आवश्यकता रहेकाे उनले बताए।
यूएनएचसीआरले सहयोग घट्दा शरणार्थीहरू सुरक्षा, कानुनी स्थिति र दीगो भविष्य खोज्दै अगाडि बढ्न बाध्य हुन सक्ने चेतावनी दिएको छ।




प्रतिक्रिया