काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु संकट र नेपाली जनताले भोगिरहेको समस्यालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै धमलाले जलवायु संकटबाट नेपालले भोगिरहेको क्षति र त्यसको क्षतिपूर्ति तथा न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएको भन्दै प्रधानमन्त्री शाहलाई नेपाली जनताले अभिनन्दन गर्नुपर्ने बताएका हुन्।
‘जलवायु संकट र नेपालीको समस्यालाई महासभामा राखेर प्रधानमन्त्रीले क्षतिपूर्ति माग्नुभएको छ । न्याय माग्नुभएको छ । प्रधानमन्त्रीलाई नेपाली जनताले अभिनन्दन गर्नुपर्छ,’ धमलाले भने।
धमलाले राजा महेन्द्र र बीपी कोइरालापछि प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा शक्तिशाली प्रस्तुति दिएको दाबीसमेत गरे।
उनका अनुसार प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालको मात्रै समस्या नभई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम र विश्व समुदायको साझा जिम्मेवारीलाई समेत जोड दिइएको छ।
प्रधानमन्त्री शाहले महासभामा नेपालमा भएको बाढी तथा जलवायुजन्य क्षति प्रस्तुत गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलताको विषय उठाएका थिए। उनले जलवायु विपद्बाट प्रभावित नेपालजस्ता मुलुकलाई ऋणभन्दा पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको बताएका थिए।
मलेसिया रोजगारी समस्या संवादबाट समाधान गर्नुपर्छ
यसैगरी धमलाले मलेसियामा देखिएको नेपाली श्रमिकसम्बन्धी समस्यालाई दुई देशबीचको संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच भएको कुराकानीलाई सकारात्मक रूपमा लिँदै उनले छलफलमार्फत समस्या समाधान गर्नुपर्ने बताए।
धमलाले मलेसियामा करिब ५ लाख संख्यामा नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उनीहरूको रोजगारी र अधिकारसँग जोडिएका समस्यालाई कूटनीतिक तथा संस्थागत संवादमार्फत समाधान गर्नुपर्ने बताए।




प्रतिक्रिया