काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले मलेसियामा नेपाली श्रमिकको रोजगारी सुरक्षित गर्न नेपाल सरकारले मलेसिया सरकारसँग कूटनीतिक ढंगले संवाद अघि बढाउनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै वाग्लेले अहिले देखिएको म्यानपावर छनोटसम्बन्धी विवादलाई वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार विवाद लामो समयसम्म कायम रहे त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकको मलेसिया रोजगारी गुम्न सक्छ ।
मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (FWCMS) अन्तर्गत २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रमुख’ र थप २५० वटा कम्पनीलाई सहायक/सहयोगी एजेन्सीका रूपमा सूचीकृत गरेको छ। नेपाल सरकारले उक्त संरचनाप्रति असहमति जनाउँदै आएको छ। वैदेशिक रोजगार विभागले समेत २५० सहायक कम्पनीसँग उनीहरूको छनोट प्रक्रिया, मापदण्ड र कानुनी आधारबारे स्पष्टीकरण मागेको छ।
संघकाे तृत्वले २५ म्यानपावरकाे अफिसमा तालाबन्दि गर्ने, फाेन मार्फत धम्कि दिने तथा दुर्व्यवहार गर्नेजस्ता गतिविधिलाई पनि तत्काल राेक्नपनर्ने उनले बताए ।
‘२५ वटा म्यानपावर कम्पनीको पक्षमा म छैन। बसेर राम्रोसँग छलफल गरेर समाधान खोज्नुपर्छ,’ वाग्लेले भने।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि मलेसियाको उक्त सूचीकरणप्रति असहमति जनाउँदै सबै इजाजतप्राप्त व्यवसायीलाई समान अवसर, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच भएको टेलिफोन संवादलाई वाग्लेले सकारात्मक रूपमा लिएकाे प्रतिक्रिया दिए । प्रधानमन्त्री शाहले नेपाली श्रमिकको भर्ना प्रक्रियामा देखिएको विवाद समाधान गर्न तथा श्रम सम्बन्धलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन मलेसियाली समकक्षीसँग आग्रह गरेका थिए। दुवै प्रधानमन्त्रीबीच समस्या समाधानका लागि श्रममन्त्री तहमा प्रत्यक्ष संवाद अघि बढाउने समझदारीसमेत भएको छ।
वाग्लेले प्रधानमन्त्री शाहले वैदेशिक रोजगार क्षेत्रको प्राविधिक ज्ञान कम भए पनि नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर कुरा उठाएको बताए। ‘प्रधानमन्त्रीलाई वैदेशिक रोजगारीसम्बन्धी ज्ञान कम होला, तर उहाँले नेपाली श्रमिककै हितमा कुरा गर्नुभएको छ,’ वाग्लेले भने।
उनले सरकार, व्यवसायी र मलेसियाली पक्षबीच गम्भीर छलफलमार्फत निकास खोज्नुपर्नेसमेत बताए।




प्रतिक्रिया