कांग्रेस महामन्त्री पदको उम्मेदवार बन्दै नैनसिंह महर


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णय डडेल्धुरा कांग्रेसले गरेको छ।

जिल्ला अधिवेशनबाट पारित निर्णयमा महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरूलाई महरको पक्षमा समर्थन जनाउन अपिलसमेत गरिएको छ।

डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई व्यक्तिविशेष वा गुटको विषय नभई पार्टीको संगठनात्मक रूपान्तरणसँग जोडिएको प्रस्तावका रूपमा व्याख्या गरेको छ। ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितलाई उनको नेतृत्व अवधारणाको आधारका रूपमा प्रस्तुत गरिएको छ।

महरले कांग्रेसलाई ‘इभेन्ट ड्रिभन’ नभई ‘नलेज ड्रिभन र नेसन सेन्ट्रिक’ पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा अघि सारेका छन्। संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई ‘पावर सेन्टर’ भन्दा ‘पर्फमेन्स सेन्टर’ बनाउने उनको अवधारणालाई पनि डडेल्धुरा कांग्रेसले समर्थन गरेको छ।

महरलाई महामन्त्रीमा अघि बढाउने निर्णयसँगै डडेल्धुरा कांग्रेसले देशभर तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूसँग उनको पक्षमा समर्थनका लागि औपचारिक अपिलसमेत गरेको छ।