सञ्चारकर्मी उमेश सुनार बाराबाट कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार


बारा । सञ्चारकर्मी तचर्चितथा सामाजिक अभियन्ता उमेश सुनार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बारा क्षेत्र नम्बर १ बाट महाधिबेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्।

सुनार नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएसँगै महाधिबेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन्। कांग्रेसको निर्धारित निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।

सञ्चार क्षेत्र हुँदै सामाजिक तथा राजनीतिक बहसमा सक्रिय सुनार लामो समयदेखि सामाजिक न्याय, दलित अधिकार, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आवाज उठाउँदै आएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमार्फत कांग्रेसको राजनीतिक गतिविधिमा सक्रिय भएका सुनार पछिल्लो समय पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र समावेशी नेतृत्वको बहसमा समेत जोडिँदै आएका छन्।

सुनारलाई कांग्रेसका सभापति गगन कुमार थापा निकट मानिन्छ। थापाले पार्टीभित्र पुस्तान्तरण, नीति तथा विचारको बहस र संगठनलाई नयाँ पुस्तासँग जोड्ने विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका बेला सुनारको महाधिबेशन प्रतिनिधिको उम्मेदवारीलाई पनि कांग्रेसभित्रको नयाँ पुस्ताको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।

सञ्चारकर्मीको पहिचानसँगै सामाजिक अभियानमा सक्रिय सुनारले लामो समयदेखि सार्वजनिक सरोकारका विषयमा आवाज उठाउँदै आएका छन्। विशेषगरी दलित समुदायको अधिकार, सामाजिक विभेदको अन्त्य तथा लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयमा उनको सक्रियता रहँदै आएको छ।

महाधिबेशन प्रतिनिधि रूपमा उम्मेदवारी दिँदै गर्दा सुनारले पार्टीभित्र युवा पुस्ता, सञ्चार क्षेत्र, सामाजिक न्याय र समावेशी राजनीतिक प्रतिनिधित्वको आवाजलाई थप प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

बारा क्षेत्र नम्बर १ मा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहँदा सुनारको उम्मेदवारीले कलराजनीतिमा नयाँ पुस्ताको सहभागिताको विषयलाई समेत चर्चामा ल्याएको छ।