काठमाडौं । थारु महिला सभा उपत्यका समितिले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको जितिया पर्वको स्वरुप परिवर्तन गरेर मनाउने भएको छ ।
अहिलेको बाढी पहिरो र जनधनको क्षतिलाई ध्यानमा राख्दै आफ्नो परम्परा र साँस्कृतिक पर्वलाई निरन्तरता दिनको लागि धेरै तडकभडक नगरी शोक, प्रार्थना, एकता र सहयोगको पर्वको रुपमा संयमतापुर्वक असोज १८ गते काठमाडौंमा मनाउन लागिएको थारु महिला सभाले जनाएको छ ।
सभाका अध्यक्ष ललिता चौधरीले यस पटकको जितियामा (सुईध) लागेको हुनाले घरघरमा मुर्ति ल्याएर कथा वाचक बोलाउन सम्भव नहुने भएकाले कुनै एक ठाउँमा मुर्ति र कथा वाचक ल्याई विधि अनुसार जितिया पर्व मनाउन लागिएको बताए ।
उहाँले देशको कठिन परिस्थितिलाई मध्यनजर गर्दै दिवंगत भएकाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण र मौन धारणा गरी संयमित तरिकाले कार्यक्रम मनाउने जानकारी दिए ।
उनका अनुसार यस पटक जितिया नाचगान धेरै नगर्ने तर विधि र परम्परा अनुसार ब्रतालु महिला दिदिबहिनीको लागि जितिया कथा वाचकको व्यवस्था मिलाएर कार्यक्रमलाई सरल, मर्यादित र शान्त बनाउने तथा सांस्कृतिक कार्यक्रमलाई सन्देशमुलक र सामाजिक जिम्मेवारी बोध हुनेगरी आयोजना गरिने धारणा राखे ।
भोटेकोशी बाढीका कारण देश विषम परिस्थितिमा रहेकोले थारु कल्याणकारीनी सभा, केन्द्रिय कार्यालयले एक विज्ञप्ती जारी गरी यस वर्षको जितिया पर्व मेला महोत्सवको रुपमा नभई साँस्कृतिक पर्वको रुपमा मनाउन अनुरोध गरिएको छ ।
थारु महिला सभाले त्यहि कुरालाई ध्यानमा राख्दै “यस वर्षको जितिया विपतीमा साथ, संस्कृतिलाई निरन्तरता, शोकमा जितिया ब्रतालुको प्रार्थना” भन्ने नारा सहित जितिया पर्व मनाउन लागिएको हो ।




प्रतिक्रिया