करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर किन छाडियाे चाेलेन्द्रलाई ?


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले करिब १२ घण्टापछि परिवारको जिम्मा लगाएको छ।

स्रोतका अनुसार प्रहरीले जबरालाई आफन्तको जिम्मा लगाएर प्रहरीले नै घरसम्म पुर्‍याई छाडेको हो। शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । प्रहरीले उनलई राति ‘जेनजीको थ्रेट’ छ भन्दै घरबाटै पक्राउ गरेकाे थियाे ।

जबराका पारिवारिक स्रोतका अनुसार उनको सुरक्षालाई ध्यानमा राख्दै घरमा थप प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। साथै, सादा पोसाकमा समेत प्रहरी खटाइने जनाइएको छ। ‘घरमा सुरक्षाकर्मी थप गर्ने कुरा भएको छ । सादा पोसाकमा पनि प्रहरी परिचालन गर्ने कुरा भयाे,’ पारिवारिक स्रोतले बतायो।

प्रहरीले राणालाई पक्राउ गरेको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको बताएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  एसएसपी सन्तोष खड्काका अनुसार राणालाई भौतिक क्षति पुर्‍याउने गतिविधि हुन सक्ने सूचना पाएपछि राति नै प्रहरी टोली उनको निवास पुगेको थियो। ‘हामीलाई राति नै उहाँको जीवनमाथि नै गम्भीर खतरा आएको सूचनापछि सुरक्षा दिने क्रममा हामीले साथमै लिएर आएका हौँ ,’ उनले भने ।

एसएसपी खड्काका अनुसार राति करिब ३ बजे उनलाई प्रहरी कार्यालय ल्याइएको हो। सुरक्षा चुनौती कहाँबाट थियो भन्नेबारे भने उनले खुलाउन चाहेनन्।