-जीवन पराजुली / रासस
काठमाडौँ, १२ असोज । अचेल कुनै बच्चाले गीत सुन्न चाहे मोबाइल खोज्छ, कथा वा कार्टुन हेर्न सुन्न मनलागे युट्युबमै रोज्छ । इन्टरनेटमा हुर्किरहेको आजको बालपुस्तासँग आफूलाई मन परेका गीत, कथा, कविता वा कार्यक्रम रोज्ने अनगिन्ती विकल्प छन् तर टेलिभिजन र इन्टरनेट आउनुअघिका पुस्ताको बाल्यकालमा यस्तो सुविधा थिएन । उनीहरूका लागि गीत, कविता, कथा र नाटक सुन्ने एकमात्र माध्यम रेडियो नेपाल थियो । र ती कार्यक्रमहरु पनि रेडियोमा सधैँ आउँदैनथे । समय कुरेरै बस्नुपथ्र्याे ।
रेडियोबाट प्रसारण हुने बालकार्यक्रम नै उनीहरूको मनोरञ्जन र कल्पनाको संसार थियो । त्यही संसारमा बालबालिकाले रुचाउने गीत, कथा, कविता र नाटक बोकेर आइपुग्नुहुन्थ्यो, ‘वासुदेव मुनाल’ ।
मुनाल हरेक साँझ बालबालिकालाई रेडियो सेटनजिक बोलाउँदै भन्नुहुन्थ्यो, “आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ! लौ त अब सुरु गरौँ आजको हाम्रो बालकार्यक्रम ।”
रेडियो बज्न थालेपछि बालबालिका त्यसको वरिपरि झुम्मिन्थे । केही आफ्नै रचना रेडियोबाट सुनिने आशामा कान थापेर बस्थे । कविता, नाटकको संसारमा सयर गराउने मुनालको कार्यक्रम बालबालिकामाझ असाध्यै लोकप्रिय थियो ।
रेडियोमा केटाकेटीका लागि हरेक शुक्रबार कविता रेकर्ड गरिन्थ्यो । त्यसैले रेडियो नेपालको प्राङ्गणमा शुक्रबार दर्जनौँ बालबालिकाको रमाइलो जमघट हुन्थ्यो । रेडियो नेपालको गेटबाहिर २–३ कक्षादेखि ९–१० कक्षासम्मका विद्यार्थीहरूको समूह जम्मा हुन्थे । छनोट भएका केटाकेटीले उत्कृष्ट कविताहरू त्यसै दिन वाचन गर्न पाउँथे ।
मुनाल बालबालिकाको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । उहाँले बालबालिकालाई कार्यक्रमका श्रोतामा सीमित गर्नुभएन, बरु उहाँहरूलाई रेडियोको स्टुडियोसम्म भित्र्याउनुभयो । सो कार्यक्रम बालबालिकामात्र नभई अभिभावकसमेतले रुचाएका थिए ।
उहाँको बालकार्यक्रममा तत्कालीन युवराज दीपेन्द्र शाह, कलाकारहरू शर्मिला मल्ल, पूजा चन्द, सुनिता सुब्बा, ममता दीपविम, दीपकराज गिरी, मनोज गजुरेल, दमन रूपाखेती, जितु नेपाल, दीपाश्री निरौलालगायत सहभागी हुनुभएको थियो । तत्कालीन बालकार्यक्रममा सहभागी थुप्रैले मुनाललाई आफ्नो गुरुसमेत मानेका छन् ।
मुनालले तीन दशकभन्दा लामो समय सफल रुपमा बालकार्यक्रम सञ्चालन गर्नुभयो । ‘हाम्रा शत्रु, ‘पिँ पिँ गर्छ बाजा’, ‘घैँटोमा घाम’ र ‘हराएको हात’ उनका बालसाहित्यिक कृति हुन् । उहाँले ‘सुनकेस्रा नामको बाल पत्रिका पनि निकाल्नुभयो ।
बाल कार्यक्रम निर्माण तथा बालसाहित्य सिर्जनाका क्रममा मुनाल स्वयं बालबालिकाका साथी बन्नुभयो । रेडियो युगका यी बालसाथी बितेको १२ असोजमा १० वर्ष पुगेको छ । १२ असोज २०७४ मा ६८ वर्षको उमेरमा घाँटीको क्यान्सरका कारण उहाँको निधन भएको थियो ।
मुनालको रुचि र दक्षता बालसंसार मात्र थिएन । बहुप्रतिभा सम्पन्न मुनाल गायन, सङ्गीत, लेखन र अभिनयमा समेत पोख्त कलाकार–लेखक हुनुहुन्थ्यो । उहाँका लोकगीत, आधुनिक गीत, बालगीत, राष्ट्रिय गीत गरी ३५० भन्दा बढी गीत रेकर्डमा छन् ।
‘झमझम इस्टकोट’, ‘तिम्रो घर चाँचरी’, ‘पानी खाने निहुँले’, ‘भए पनि ठीकै’, ‘दुई एकान दुई’, जस्ता दर्जनौँ चर्चित गीतका सर्जक हुनुहुन्छ उहाँ । पाण्डव सुनुवारसँगको उहाँको सहकार्य विशेष चर्चित बन्यो । उहाँहरुको ‘झमझम इस्टकोट’, ‘सक्यौ नानी सक्यौ नानी’, ‘सिरु न पाते खुकुरी मेरो’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ जस्ता लोकजीवनसँग नजिक रहेका गीत अझै लोकप्रिय छन् ।
“बाख्रा झ¥यो भीरैभीर
भैँसी झ¥यो खोला
गोठालाले गाको गीत
नबिर्सनुहोला…”
मुनाललाई रेडियो नेपाल प्रवेश गराउने प्रथम गीत हो यो । सुरुदेखि नै सरल तर झर्रो शब्दका गीतमा उहाँको रुचि देखिन्छ । उहाँको पहिलो गीत नै सङ्गीतकार नातिकाजीले मन पराउनुभयो । त्यसपछि नातिकाजीकै आग्रहमा थप गीतहरु रेकर्ड मात्र भएन, रेडियो नेपालमा काम पनि पाउनुभयो । नातिकाजी, फत्तेमान, नारायणगोपाल, मधु क्षेत्र, पाण्डव सुनुवार, मीरा राणालगायत तत्कालीन समयका स्थापित सर्जकहरुसँग साङ्गीतिक सहकार्य गर्नुभयो ।
ताप्लेजुङमा जन्मेर उदयपुरको चौदण्डीगढीमा हुर्कनुभएका मुनालको जीवनको महत्वपूर्ण कालखण्ड विराटनगरमा बित्यो । विराटनगरमा साथीहरुसँग मिलेर उहाँले स्थापना गरेको ‘मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय’ अहिले पनि सञ्चालनमा छ । एउटा पुस्तालाई नै प्रभाव पार्ने मुनाल क्लब स्थापनापछि त्यो ठाउँ ‘मुनाल पथ’ नामबाट चिनिन थाल्यो ।
मुनाल क्लबबाट रेडियो नेपालमा छलाङ मार्नुभएका मुनाल २०२९ सालदेखि २०६४ सालसम्म रेडियो नेपालमा आबद्ध हुनुभयो । २०२९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुनुभएको थियो मुनाल । प्रस्तोता हुँदै बालमहाशाखा उपनिर्देशकसम्मको भूमिकामा बसेर आफ्नो क्षमता प्रदर्शन गर्नुभयो ।
मुनाल रेडियो प्रवेश गर्ने बेला बालगीत र हास्यगीतको सङ्ख्या न्यून थियो । आफ्ना लेखन र अन्तर्वार्ताहरुमा उहाँले बालगीत र लोकगीतको भण्डार बढाउन आफू सचेत रुपमै लागेको बताउनुभएको छ ।
‘पानी खाने निहुँले’ उहाँको यस्तै हास्यशैलीको गीत हो । यो गीतको कथा रोचक रहेको मुनालले लेख्नुभएको डायरीमा भेटिन्छ ।
रेडियो नेपालको कोठा नं ६ मा नारायणगोपाल, नातिकाजी, मधु क्षेत्रीलगायत सङ्गीतकर्मी भेला भएको दिन थियो । कसैले मुनाललाई भने, “ट्र्याजिक होइन, रोमान्टिक गीत गाउनुस् ।” नातिकाजीले थप्नुभयो, “हो मुनालजी, आज स्टुडियो पनि खाली छ ।”
मुनाल तत्कालै गीत लेख्न जोसिनुभयो । जोसिनुभएन मात्रै, आधा घण्टामा गीतै तयार पार्नुभयो, ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला, मौका मिले रानीवनमा घुम्न जाउँला ।’
तत्कालको सिर्जनाबाट जन्मिएको गीत अझै पनि निकै चर्चामा छ । आँसु लेखक नै हुनुहुन्थ्यो मुनाल । मध्यरातसम्म मदिरा पिएर रमाइलो गरे पनि झिसमिसे बिहानीमा रेडियोको स्क्रिप्ट तयार पारिसक्ने खुबी थियो उहाँको ।
मुनालको यो विशेषताबारे उहाँका छोरा मोहित भन्नुहुन्छ, “घरमा सँगै पिएर राति अबेर सुतेका हुन्थ्यौँ, बिहान उठ्दा बुबाको हातमा पूर्ण रुपमा तयार स्क्रिप्ट हुन्थ्यो ” मोहितका अनुसार मुनालले ‘कसले माया गर्छ’ एल्बमका ६ गीतमा स्वर, शब्द र गायनसँगै क्यासेट उत्पादनका सम्पूर्ण काम जम्मा तीन दिनमै पुरा गर्नुभएको थियो । छिटो लेख्न सक्ने खुबीसँगै यसलाई बुबाको आफ्नो कामप्रतिको प्रतिबद्धता र लगावका रुपमा समेत अथ्र्याउनुहुन्छ मोहित । आफ्ना बहुविधागत सिर्जनात्मक कर्मले एउटा सिङ्गो पुस्ताकै साझा स्मृतिमा बास पाउन सफल कलाकार हुनुहुन्छ मुनाल ।
रोगले थलिएपछि वासुदेव भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । ६८ वर्षको उमेरमा क्यान्सरसँग जुधिरहेका क्षणमा पनि उहाँ केही न केही कोरिरहनुहुन्थ्यो । जीवनका अन्तिम पलहरुमा समेत कम्तीमा दैनिक एक घन्टा लेख्न आफैँलाई उत्प्रेरित गरिरहनुभयो तर आफ्ना भोगाइ र अनुभूति समेटेर आत्मकथा प्रकाशन गर्ने उहाँको इच्छा भने अधुरै रह्यो । घाम डुब्ने बेला बालकार्यक्रम लिएर उदाउने मुनालको आवाज आखिरमा अस्तायो ।
मुनालको निधनपछि २०७५ सालमा उहाँको परिवारले वासुदेव मुनाल स्मृति फाउन्डेसन स्थापना ग¥यो । फाउन्डेसनका महासचिव समेत आफैँ रहेका छोरा मोहितका अनुसार फाउन्डेसनले मुनालका गीतसङ्गीत तथा साहित्यिक कृतिहरुको संरक्षण प्रवद्र्धनका लागि पनि काम गरिरहेको छ ।
यसै क्रममा फाउन्डेसनले मुनालको जीवित छँदै पूरा हुन नपाएको एउटा अधुरो चाहनालाई मूर्त रुप दिँदैछ । त्यो हो, मुनालको आत्मकथा समेटिएको जीवनपरक कृति ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’
मुनालले तीन दशकभन्दा लामो रेडियोकालमा सबैभन्दा दोहो¥याएको वाक्य हो ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’ यो वाक्य मुनालको पहिचान पनि हो । यसकारण पनि मुनालको जीवनीपरक संस्मरणको नाम यही राखिएको मोहितले बताउनुभयो ।
बुकहिलबाट आगामी मङ्सिरमा प्रकाशनको तयारी गरिएको पुस्तकमा वासुदेव मुनालको बाल्यकालदेखि जीवनका अन्तिम क्षणसम्मका विभिन्न सन्दर्भ समेटिएको छ । प्रकाशोन्मुख पुस्तकका सम्पादक प्रभाकर गौतम भन्नुहुन्छ, “कला, साहित्य र सङ्गीतका त्रिवेणी सर्जक मुनाललाई व्यक्ति र कलाकारका रुपमा चिनाउने पुस्तक हो यो संस्मरण । किताबले रसिक तर सरल व्यक्तित्व मुनालका जीवनका रमाइला र भोगाइलाइ एकसाथ उजागर समेटेको बताइएको छ ।”




प्रतिक्रिया