चार हजार भारतीय तीर्थयात्रीले गरे यात्रा रद्द


हुम्ला । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अप्रत्यक्ष असर कर्णालीको हिमाली पर्यटकीय अर्थतन्त्रमा गहिरो गरी परेको छ। बाढीका कारण सिर्जित सन्त्रासले भारतीय तीर्थयात्रीले धमाधम मानसरोवर-कैलाश तीर्थयात्रा रद्द गरेपछि नेपाल–चीन सीमास्थित प्रमुख उत्तरी नाका हिल्सा सुनसान बनेको छ।

मुख्य पर्यटकीय सिजनमै नाका सुस्ताएपछि त्यसको सोझो असर हुम्लाका होटल, विमान तथा हेलिकोप्टर सेवा, स्थानीय भरिया र साना व्यापार-व्यवसायमा परेको छ।

मानसरोवर–कैलाश तीर्थयात्राका लागि वैशाखदेखि असोजसम्मको समय उपयुक्त मानिए पनि अगस्ट र सेप्टेम्बरलाई ‘पिक सिजन’ मानिन्छ। तर, सेप्टेम्बर अन्तिमसम्मका लागि पूर्वबुकिङ गराएका हजारौँ भारतीय पर्यटकले बाढीको समाचारपछि भ्रमण स्थगित गरेका हुन्।

वास्तवमा हिल्सा नाका हुँदै जाने पर्यटकीय मार्गमा कुनै क्षति नपुगे पनि नेपालभर नै बाढीको प्रभाव रहेको ठानेर पर्यटकहरू त्रसित बनेका हुन्।

एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) को तथ्याङ्क अनुसार सेप्टेम्बर अन्तिमसम्म हिल्सा नाका हुँदै मानसरोवर–कैलाश जाने तयारीमा रहेका झन्डै चार हजार भारतीय तीर्थयात्रीले यात्रा रद्द गरेका छन्। तीमध्ये चीनबाट भिसा (प्रवेशाज्ञा) आइसकेका करिब १ हजार २ सय जना पर्यटकको यात्रासमेत अन्तिम समयमा रोकिएको छ।

बाढीका कारण सिर्जित जनजीवनको त्रास र सञ्चार माध्यममा आएका समाचारका आधारमा पर्यटकहरू पछि हट्दा पर्यटकीय सिजनको अन्त्यतिर हुम्लाको स्थानीय अर्थतन्त्रले ठूलो धक्का व्यहोर्नुपरेको छ।