प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति


बनेपा (काभ्रे), १२ असोज । विद्युतको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ फलाँटेकी ४५ वर्षीया देवी उप्रेतीलाई नेपाल विद्युत् प्राधिकरणले १० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ ।

उक्त गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा गत साउन ७ गते विद्युत् पोल अड्याउन राखिएको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उनको मृत्यु भएको हो ।

घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र पीडित परिवारबीच पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । सो अनुरुप आजै रकम उपलब्ध गराइएको छ ।

प्राधिकरणको पाँचखाल वितरण केन्द्रका प्रमुख दीपक सापकोटाका अनुसार पीडित परिवारलाई क्षतिपूर्ति वापत प्रशासनको रोहबरमा रु १० लाखको चेक हस्तान्तरण गरिएको छ ।