महेन्द्रनगर, १२ असोज । कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिए । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।
भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडाैँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिए ।
“वर्षाका कारण काठमाडाैँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो”, अध्यक्ष भट्टले भने, “मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।”




प्रतिक्रिया