युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट


सियोल, १२ असोज । युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ । राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरियामा पठाइएको खुलासा गरेका थिए । उनले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले युक्रेनको कदमप्रति आपत्ति जनाएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ सचिव सेओङ घी–होङले युक्रेनी पक्षले गोपनीयता सम्झौता उल्लङ्घन गरी विषय एकतर्फी रूपमा सार्वजनिक गरेको बताएका छन् । युक्रेनी राष्ट्रपतिको प्रेस कार्यालयले कुनै गोपनीयता सम्झौता नभएको जनाएकोप्रति पनि उनले आपत्ति जनाउँदै यसले दुई सरकारबीचको विश्वास र मैत्रीपूर्ण सम्बन्धमा क्षति पुर्‍याएको बताए ।

युक्रेनले गत वर्षको सुरुआतमा रुसका लागि लडिरहेका उत्तर कोरियाली सेनामध्ये दुई सैनिकलाई पक्राउ गरेको थियो । तीमध्ये एकले आफू १७ वर्षको उमेरमा सेनामा भर्ती भएको र जासुसीसम्बन्धी एकाइमा काम गरेको बताएका थिए । दक्षिण कोरियाका एक सांसदका अनुसार ती सैनिकले दक्षिण कोरियामा ‘सामान्य जीवन’ बिताउन चाहेका थिए ।

इवा वुमन्स युनिभर्सिटीकी प्राध्यापक पार्क वोन–गोनले घटनाको सार्वजनिक खुलासाले उत्तर कोरियामा दक्षिण कोरियाप्रतिको शत्रुता बढाउन सक्ने बताएका छन् । राष्ट्रपति लीले गत जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिनै उत्तर कोरियासँग वार्ताको प्रस्ताव अघि सारेका छन्।

यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पार्न सक्ने बताइएको छ । दक्षिण कोरियाले हालसम्म युक्रेनलाई घातक हतियार उपलब्ध गराएको छैन, तर उत्तर कोरियाले रुसलाई सहयोग गर्न सैनिक पठाएपछि रक्षात्मक हतियार उपलब्ध गराउने अनुरोधमाथि विचार गरिरहेको थियो ।

क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले घटनाले दक्षिण कोरिया र युक्रेनबीचको विश्वासमा ठूलो धक्का पुगेको बताएका छन् । उनका अनुसार विश्वास कमजोर भएपछि घातक वा गैरघातक हतियार उपलब्ध गराउने विषयमा दक्षिण कोरियाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आउन सक्छ । रासस